धनगढी । बैतडीमा शुक्रबार यात्रुबाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शुक्रबार अपराह्न करिब ३ः३० बजे धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सुप्रप्र ०१–००१ ख ३९६३ नम्बरको सुदूरपश्चिम यातायातको बस पाटन नगरपालिका–९ गैराखानस्थित दशरथचन्द राजमार्गबाट करिब १०० मिटर तल खसेर दुर्घटनामा परेको हो।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी बैतडीबाट प्रहरी सहायक निरीक्षक कृष्णराज भट्टको नेतृत्वमा पाँच जनाको टोली घटनास्थल पुगेको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक इन्द्रराज भट्टको नेतृत्वमा थप २५ जना प्रहरी परिचालन गरी उद्धार तथा राहत कार्य सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका जनकप्रसाद पन्त, ११ वर्षीय सिद्धार्थ भण्डारी, पाटन नगरपालिका–८ का करिब ६० वर्षीय एक पुरुष र पाटन नगरपालिका–६ का ३१ वर्षीय दीपक विकको अवस्था गम्भीर रहेको छ।
गम्भीर घाइतेमध्ये केहीलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ भने एक जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको खोड्पे अस्पताल र डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।
घाइते हुनेमा चालक पाटन नगरपालिका–३ का २५ वर्षीय दिनेश भाटसहित दुरा बोहरा, जनकप्रसाद पन्त, सिद्धार्थ भण्डारी, मोहन पन्त, दीपक विक, सागर ठगुन्ना, निर्मला कार्की, नरेश लावड, धना पहरी, जनकराज जोशी, रमेश महर, १४ वर्षीय अरुण महर, पुष्कर बिष्ट, माया बिष्ट, रत्ना कुमारी भण्डारी, अनुग्रा कुमारी ठगुन्ना, दीपा महरा तथा परिचय नखुलेका एक पुरुष र एक महिला रहेका छन्।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया