• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    वैदेशिक रोजगारी ठगी सम्बन्धी एकैदिन २५ मुद्दा दर्ता र १९ विरुद्ध पक्राउ पूर्जी

    416
    SHARES



    काठमाडौं । वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न वैदेशिक रोजगार विभागले कारबाहीलाई तीव्र बनाएको छ। विभागले एकैदिन २५ वटा नयाँ मुद्दा दर्ता गर्नुका साथै १९ जना फरार अभियुक्तविरुद्ध पक्राउ पूर्जी जारी गरेको जनाएको छ।

    विभागका अनुसार वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा ८ जनालाई पक्राउ गरी अनुसन्धानका लागि उपस्थित गराइएको छ। फरार रहेका अन्य १९ जनाको खोजी तीव्र पार्दै उनीहरूविरुद्ध पक्राउ पूर्जी जारी गरिएको विभागले जनाएको छ।

    ठगी नियन्त्रणसँगै म्यानपावर कम्पनीहरूको गतिविधिमाथिको निगरानी पनि कडा पारिएको छ। संस्था अनुगमन शाखाले विभिन्न विषयमा तीन वटा म्यानपावर कम्पनीसँग स्पष्टीकरण माग्दै आवश्यक पत्राचार गरेको छ। त्यस्तै, ४७ वटा म्यानपावर कम्पनी र सात वटा पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी) प्रदायक संस्थाको नवीकरण गरिएको छ।

    विभागले पीडित श्रमिकको उद्धार र न्याय सुनिश्चित गर्न पनि सक्रियता बढाएको जनाएको छ। एकैदिन दुई जना श्रमिकको उद्धार गरिएको, पाँच वटा उजुरी टुंग्याइएको तथा विदेशमा रहेका श्रमिकले सम्झौताअनुसार सेवा–सुविधा पाउने सुनिश्चितताका लागि दुई वटा प्रतिबद्धता प्राप्त गरिएको विभागले जनाएको छ। साथै, आठ चरणको दुईपक्षीय छलफलपछि एक जना पीडितले क्षतिपूर्तिसमेत पाएका छन्।

    श्रमिकका गुनासो सम्बोधनमा पनि विभागले उल्लेख्य प्रगति भएको दाबी गरेको छ। ‘हेलो सरकार’ मार्फत प्राप्त नौ वटा गुनासोमध्ये पाँच वटाको समाधान गरिएको छ भने विभागको कल सेन्टरमा दर्ता भएका ४६ गुनासोमध्ये ४४ वटाको तत्काल सम्बोधन गरिएको विभागले जनाएको छ।

    विभागले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने अभियानलाई अझ प्रभावकारी बनाइने बताएको छ। वैदेशिक रोजगारीका नाममा श्रमिक ठग्ने व्यक्ति वा संस्थालाई कानुनको दायरामा ल्याएर कडा कारबाही गरिने चेतावनीसमेत विभागले दिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ