• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    विद्यालयमा लागू औषध दुरुपयोग सम्बन्धी चेतनामूलक कार्यक्रम

    311
    SHARES



    काठमाडौं। लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवस–२०२६ (जुन २६) को अवसरमा चन्द्रागिरीस्थित नारायण जन माध्यमिक विद्यालयमा लागू औषध दुरुपयोग सम्बन्धी एकदिने चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। विद्यालयको सभाकक्षमा आयोजित कार्यक्रममा करिब ९० जना छात्र–छात्राको सहभागिता रहेको थियो।

    कार्यक्रमका प्रमुख प्रशिक्षक पूर्व सहायक प्रमुख जिल्ला अधिकारी तथा लागू औषध नियन्त्रण र सचेतना क्षेत्रमा लामो समयदेखि प्रशिक्षण दिँदै आएका खड्गबहादुर श्रेष्ठले सरल र प्रभावकारी शैलीमा प्रशिक्षण प्रदान गर्दै विद्यार्थीहरूलाई लागूऔषधजन्य पदार्थको प्रयोगबाट टाढा रहन, सही संगत रोज्न तथा जीवनभर सचेत र जिम्मेवार नागरिकका रूपमा अघि बढ्न आग्रह गरेका थिए।

    प्रशिक्षणका क्रममा उनले लागूऔषध प्रयोगकर्ता सर्वेक्षण–२०७६ का तथ्यांक प्रस्तुत गर्दै नेपालमा हाल १ लाख ३० हजार ४२४ जना लागूऔषध प्रयोगकर्ता रहेको जानकारी दिए। यसअघि वि.सं. २०६४ मा गरिएको सर्वेक्षणमा ९१ हजार ५३४ जना प्रयोगकर्ता रहेको उल्लेख गर्दै २०७६ को प्रतिवेदनअनुसार लागूऔषध प्रयोगकर्ताको वार्षिक वृद्धिदर ५.०६ प्रतिशत रहेको तथ्यसमेत विद्यार्थीहरूलाई जानकारी गराए।

    त्यसैगरी, विद्यालय व्यवस्थापन समितिकी सदस्य तथा जागरण महिला विकास समाज नेपालकी अध्यक्ष सुगन्धा सुवेदी सिग्देलले कार्यक्रमको सहजीकरण गर्दै लागूऔषध दुरुपयोगका कारण, त्यसले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक असर तथा त्यसबाट बच्ने उपायबारे प्रशिक्षण दिएकी थिइन्।

    कार्यक्रमको विशेष आकर्षणका रूपमा लागूऔषध उपचार तथा पुनर्स्थापना केन्द्रमा उपचारपछि हाल केन्द्रमै सेवामा संलग्न रहेका दुई जना पूर्व लागू औषध प्रयोगकर्ताले आफ्ना जीवनका भोगाइ, लागू औषधले पारेको असर तथा त्यसबाट मुक्त भएर सामान्य जीवनमा फर्किएको अनुभव विद्यार्थीहरूसमक्ष प्रत्यक्ष रूपमा प्रस्तुत गरेका थिए। उनीहरूको अनुभवले विद्यार्थीहरूलाई लागू औषधको वास्तविक जोखिम र त्यसबाट हुने क्षतिबारे गहिरो सन्देश दिएको आयोजकले जनाएको छ।

    प्रशिक्षणको अन्त्यमा विद्यार्थीहरूले आफूले सिकेका विषयहरू समूहगत रूपमा प्रस्तुत गरेका थिए। विद्यालयका प्रिन्सिपल विष्णु रुपाखेतीले विद्यार्थीहरूलाई लागूऔषधको प्रयोगबाट सदैव टाढा रही अध्ययनमा केन्द्रित हुन आग्रह गर्दै यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीको भविष्य सुरक्षित बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

    साथै, उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रशिक्षक, आयोजक तथा सहभागी सबैप्रति धन्यवाद व्यक्त गरे। आयोजकका अनुसार उक्त एकदिने प्रशिक्षण कार्यक्रमबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा गरी करिब १ हजार जना लाभान्वित हुने अनुमान गरिएको छ। विद्यालयस्तरमै सञ्चालन गरिएका यस्ता चेतनामूलक कार्यक्रमले लागूऔषध दुरुपयोग न्यूनीकरण तथा सचेत समाज निर्माणमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ