• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    भाडा नतिर्ने ४५ उद्योगको लाइन काटियो, दुई सातामा ४२ करोड बक्यौता असुल

    285
    SHARES



    काठमाडौँ । औद्योगिक क्षेत्रको झन्डै साढे ४२ करोड रुपैयाँ भाडा बक्यौता दुई साताभित्रै असुल भएको छ । वर्षौँदेखि उठ्न नसकेको सो रकम तत्काल उठाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई निर्देशन दिएकी थिइन् ।

    लिमिटेडका अनुसार मन्त्रीको निर्देशनपछि हालसम्म ४२ करोड ५४ लाख ३८ हजार रुपैयाँ बक्यौता रकम सङ्कलन भएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओलीले विसं २०४५ सालदेखि नै कतिपय उद्योगले भाडा तिर्न बाँकी राखेको बताए ।

    केही दिनअघि ६ सय ३५ उद्योग तथा कार्यालयलाई भाडा तिर्न सार्वजनिक सूचना जारी गरिएको र अधिकांशले धमाधम बक्यौता चुक्ता गरेको उनले जानकारी दिए ।

    तोकिएको समयभित्र भाडा भुक्तानी नगर्ने उद्योगहरूको विद्युत् लाइन काट्न मन्त्री यादवले निर्देशन दिएपछि लिमिटेडले कडा कदम चालेको छ ।

    सुरुमा २ सयभन्दा बढी उद्योगको लाइन काटिएकोमा भाडा तिरेपछि धेरैको लाइन पुनः जोडिएको छ । तर, अझै भाडा तिर्न बाँकी रहेका ४५ वटा कम्पनीहरूको विद्युत् लाइन काटिएको महाप्रबन्धक ओलीले बताए। बक्यौता पूर्ण रूपमा चुक्ता नभएसम्म लाइन नजोड्न मन्त्री यादवले स्पष्ट निर्देशन दिएकी छन्।

    बक्यौता राख्ने उद्योगहरूमध्ये कन्टिनेन्टल कम्पोनेन्ट एन्ड सर्भिसेज प्रालिको करिब ३ करोड ६९ लाख रुपैयाँ र सोही सञ्चालकको अर्को कम्पनी कन्टिनेन्टल सर्भिसेज प्रालिको करिब १ करोड रुपैयाँ भाडा उठ्न बाँकी छ । यी दुवै उद्योगको विद्युत् लाइन काट्ने प्रक्रिया अघि बढाइएको लिमिटेडले जनाएको छ ।

    भाडा तिर्न आनाकानी गर्ने र बाह्य दबाब दिने प्रवृत्ति रहे पनि मन्त्री गौरिकुमारी यादवको स्पष्ट अडानका कारण छोटो समयमै ठुलो परिमाणको बक्यौता उठाउन सफल भएको महाप्रबन्धक ओलीले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ