• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    तीन दिनको मौसम पूर्वानुमान : कहाँ-कहाँ हुन् सक्छ भारीदेखि धेरै भारी वर्षा ?

    1.3K
    SHARES



    काठमाडौं । देशभर मनसुनी गतिविधि सक्रिय बन्दै गएसँगै आगामी तीन दिन विभिन्न प्रदेशमा भारीदेखि धेरै भारी वर्षा तथा हावाहुरीको सम्भावना रहेको छ।

    जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान सार्वजनिक गरेको तीनदिने मौसम बुलेटिनअनुसार असार १६, १७ र १८ गतेसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, भारी वर्षा र हावाहुरीको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

    आजको मौसम

    महाशाखाका अनुसार आज देशभर अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

    रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। यी प्रदेशका तराई क्षेत्र तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना पनि रहेको छ।

    बुधबारको मौसम

    बुधबार देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षा हुने तथा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। तराईका केही क्षेत्रमा हावाहुरीको जोखिम पनि रहनेछ।

    बिहीबारको मौसम

    बिहीबार पनि देशभर पूर्ण बदली रहने महाशाखाको अनुमान छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका साथै मधेस प्रदेशका केही स्थानमा भारी वर्षा र हावाहुरीको सम्भावना कायमै रहनेछ। पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

    विभागको चेतावनी

    महाशाखाले विशेषगरी कोशी, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र मधेस प्रदेशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

    भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो, भूक्षय र गेग्रान बहाव तथा तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने विभागले जनाएको छ। साथै नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा सरोकारवाला निकायलाई आवश्यक सावधानी अपनाउन र मौसमसम्बन्धी अद्यावधिक सूचनाहरू नियमित रूपमा पछ्याउन अनुरोध गरिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ