• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    अब काठमाडौं केन्द्रित कर्मचारी दुर्गम खटाइने, शक्ति र पहुँचको भरमा सधैं सुगम बस्न नपाइने

    330
    SHARES



    काठमाडौँ । कृषि, वन तथा वातावरण मन्त्रालयले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा लामो समयदेखि देखिएको सरुवा–बढुवासम्बन्धी बेथिति अन्त्य गर्न नयाँ मापदण्ड लागू गर्ने भएको छ।

    मन्त्रालयले नार्कमा सुशासन कायम गर्दै मुलुकका सबै भौगोलिक क्षेत्रमा अनुसन्धान कार्यलाई प्रभावकारी बनाउने उद्देश्यसहित ‘कर्मचारी सरुवा तथा पदस्थापन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०८३’ स्वीकृत गरेको छ। कृषिमन्त्री गीता चौधरीले स्वीकृत गरेको उक्त मापदण्ड कार्यान्वयनको तयारीमा रहेको मन्त्रालयले जनाएको छ।

    नयाँ व्यवस्थाअनुसार अब कर्मचारीहरू राजनीतिक वा व्यक्तिगत पहुँचका आधारमा वर्षौंसम्म काठमाडौंमै बसिरहने अभ्यास अन्त्य हुने अपेक्षा गरिएको छ। भौगोलिक आवश्यकता, जनशक्ति अभाव र रिक्त दरबन्दीलाई आधार मानेर कर्मचारीलाई देशभरका अनुसन्धान केन्द्रमा खटाइने व्यवस्था गरिएको मन्त्रालयको भनाइ छ।

    यसअघि पहुँच भएका कर्मचारी काठमाडौंमै नियुक्ति लिएर त्यहीँबाट अवकाश हुने, जबकि पहुँच नहुने कर्मचारी लामो समय दुर्गम क्षेत्रमा नै रहनुपर्ने अवस्था रहेको भन्दै मन्त्रालयले त्यसलाई अन्त्य गर्न मापदण्ड ल्याइएको जनाएको छ।

    मन्त्री चौधरीले दुर्गम क्षेत्रका अनुसन्धान केन्द्रमा कर्मचारी अभाव र काठमाडौंमा अत्यधिक कर्मचारी केन्द्रित हुँदा नार्कको अनुसन्धान प्रणाली प्रभावित भएको बताइन्। उनका अनुसार यस्तो अवस्थाले विभिन्न भौगोलिक क्षेत्रको आवश्यकताअनुसार कृषि अनुसन्धान विस्तार गर्न बाधा पुगेको थियो।

    नयाँ मापदण्डले कार्यालय प्रमुख छनोटमा वरिष्ठतालाई मात्रै आधार नबनाई कार्यसम्पादनलाई प्राथमिकता दिएको छ। अब नेतृत्व क्षमता, तोकिएको लक्ष्य प्राप्तिको अवस्था तथा बेरुजू फर्छ्यौटलगायतका सूचकका आधारमा मात्र प्रमुखको जिम्मेवारी दिइने व्यवस्था गरिएको छ।

    त्यस्तै, विभागीय कारबाहीको प्रक्रियामा रहेका कर्मचारीलाई कार्यालय प्रमुखको जिम्मेवारी नदिइने तथा हाल जिम्मेवारीमा रहेका भए आवश्यक प्रक्रिया पूरा गरी हटाउन सकिने व्यवस्था पनि मापदण्डमा समावेश गरिएको छ।

    यसैगरी, अब नियुक्त हुने नयाँ कर्मचारीलाई पहिलो प्राथमिकतामा काठमाडौं बाहिरका रिक्त पदमा पदस्थापन गरिनेछ। मन्त्रालयले यसबाट दुर्गम क्षेत्रका अनुसन्धान केन्द्रमा जनशक्तिको अभाव कम हुने विश्वास व्यक्त गरेको छ।

    मन्त्री चौधरीले अनुसन्धानलाई प्रयोगशालामा सीमित नराखी किसानको खेतबारीसम्म पुर्‍याउनु सरकारको मुख्य उद्देश्य रहेको बताउँदै नयाँ मापदण्डले नार्कमा व्यावसायिकता, उत्तरदायित्व र कार्यसम्पादनमा आधारित कार्यसंस्कृति विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

    नार्कमा यसअघि काज प्रथाको दुरुपयोग गर्दै प्रभावशाली कर्मचारीहरू सुगम क्षेत्रमा केन्द्रित हुने र अनुसन्धानभन्दा प्रशासनिक काममा बढी संलग्न रहने गुनासो आउने गरेको थियो। मन्त्रालयले नयाँ मापदण्डले त्यस्ता विकृति नियन्त्रण गर्दै संस्थागत सुशासनलाई थप मजबुत बनाउने अपेक्षा गरेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ