न्युयोर्क । अमेरिकाले लगातार दोस्रो दिन पनि इरानमाथि बमबारी गर्दै सिरिक सहर र केश्म द्वीपलाई निशाना बनाएको छ । यो आक्रमण होर्मुज जलडमरूमध्य नजिकै एक व्यापारिक जहाजमाथि ड्रोन आक्रमण भएपछि गरिएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले वासिङ्टन र तेहरानबीच भएको समझदारीपत्र (एमओयू) उल्लङ्घन गरेको आरोप लगाउँदै आवश्यक परे ‘सैन्य रूपमा सुरु गरिएको काम पूरा गर्ने’ चेतावनी दिएका छन् । हालसम्म इरानी अधिकारीहरू, चाहे सेना होस् वा सरकार, कसैले पनि औपचारिक प्रतिक्रिया दिएका छैनन् ।
तर सरकारी टेलिभिजनले धेरै प्रक्षेप्यास्त्रले दूरसञ्चार टावरहरूमा प्रहार गरेको जनाएको छ । पछिल्लो पटक सिरिक सहर र केश्म द्वीप गरि दुई स्थानमा आक्रमण भएको बताइएको छ ।
पछिल्लो घटनाक्रमले एउटा स्पष्ट प्रवृत्ति देखाएको छ । गत साता स्विट्जरल्यान्डमा समझदारीपत्रमा हस्ताक्षर भएपछि यी दुई पक्षबीच यो दोस्रो सैन्य भिडन्त हो । यसले उक्त समझदारीपत्रको भविष्य र जारी वार्ताको भविष्यबारे गम्भीर चिन्ता तथा प्रश्नहरू उठाएको छ । अहिले दुवै देशका लागि जटिल अवस्था सिर्जना भएको छ ।
अमेरिकाका लागि होर्मुज जलडमरूमध्य खुला राख्नु विश्वव्यापी स्थिरता, तेलको मूल्य नियन्त्रण तथा खाडी क्षेत्रका देशहरूमा बढ्दो तनाव कम गर्न अत्यन्तै महत्त्वपूर्ण छ ।
अर्कोतर्फ, इरानका लागि होर्मुज जलडमरूमध्य नै जारी वार्तामा बाँकी रहेको सबैभन्दा ठूलो दबाबको माध्यम हो । इरानीहरूको विश्वास छ कि यदि उनीहरूले यो मार्गमा आफ्नो प्रभाव गुमाए भने उनीहरूको सबैभन्दा शक्तिशाली वार्तात्मक आधार समाप्त हुनेछ र वार्ताको टेबलमा उनीहरूको स्थिति उल्लेखनीय रूपमा कमजोर बन्नेछ ।
प्रतिक्रिया