प्यूठान । मिनराज राना मगर सवार गाडी प्यूठानमा दुर्घटनामा परेको छ। दुर्घटनामा घाइते भएका उनलाई प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पठाएको छ।
प्रहरीका अनुसार शनिबार साँझ करिब ४ः४५ बजे स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेशाल क्षेत्रमा उपमेयर मगरले आफैं चलाएको लु.प्र.०१–००१ झ ०००८ नम्बरको गाडी सडकबाट करिब ३०० मिटर तल खसेर रूखमा अड्किएको अवस्थामा फेला परेको थियो।
स्थानीयवासीले दुर्घटनाबारे प्रहरीलाई खबर गरेपछि अस्थायी प्रहरी पोस्ट खाल र इलाका प्रहरी कार्यालय भृङ्ग्री बाट खटिएको संयुक्त टोलीले उपमेयर मगरको उद्धार गरेको हो। दुर्घटनाका बेला गाडीमा उनी एक्लै सवार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घाइते मगरलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि रिफर गरिएको छ। उनको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ। प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ।
प्रतिक्रिया