• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद समाचार

    रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, उज्बेकिस्तान स्तब्ध

    288
    SHARES



    काठमाडौँ । फिफा विश्वकप २०२६ को समूह ‘के’ अन्तर्गत मंगलबार राति अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेलमा पोर्चुगलले उज्बेकिस्तानमाथि ५–० गोल अन्तरको विशाल जित दर्ता गरेको छ ।

    यसअघि भएको आफ्नो पहिलो खेलमा कंगोसँग १–१ गोलको बराबरीमा रोकिएको पोर्चुगलले दोस्रो खेलमा भने उज्बेकिस्तानमाथि सानदार जित निकालेको हो । पोर्चुगलको यस जितमा कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने नुनो मेन्डेस र राफेल लियोले एक–एक गोल थपे । उज्वेकिस्तानले एक आत्मघाती गोल उपहार दिएको थियो ।

    खेलको छैटौँ मिनेटमै क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । त्यसपछि १७ औँ मिनेटमा नुनो मेन्डेसले गोल गर्दै अग्रता दोब्बर पारे । ३१ औँ मिनेटमा उज्बेकिस्तानले गोल फर्काए पनि भीएआर ले त्यसलाई मान्यता नदिएपछि पोर्चुगलको संकट टरेको थियो ।

    ३९ औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमै पोर्चुगल ३–० ले अगाडि रह्यो । दोस्रो हाफको ६० औँ मिनेटमा उज्बेकिस्तानका डिफेन्डर अब्डुकोदिर खुसानोभले आत्मघाती गोल गरेपछि पोर्चुगल ४–० ले अगाडि बढ्यो । खेल सकिनु तीन मिनेट अघि ८७ औँ मिनेटमा राफेल लियोले गोल गर्दै ५–० को विशाल जित सुनिश्चित गरे ।

    यस खेलसँगै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले विश्व फुटबल इतिहासमा एउटा दुर्लभ र ऐतिहासिक कीर्तिमान कायम गरेका छन् । उनी लगातार ६ वटा फिफा विश्वकप संस्करणमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन् ।

    रोनाल्डोले सन् २००६ मा आफ्नो पहिलो विश्वकप गोल गरेका थिए । त्यसपछि २०१० र २०१४ मा १–१ गोल, २०१८ मा स्पेनविरुद्ध ह्याट्रिकसहित ४ गोल र २०२२ मा १ गोल गरेका थिए । जारी २०२६ को विश्वकपमा समेत गोल गरेपछि उनले सन् २००६ देखि २०२६ सम्मका सबै ६ वटै विश्वकपमा गोल गर्ने कीर्तिमान बनाएका हुन् ।

    कीर्तिमानको लर्कोमा रोनाल्डो विश्वकप इतिहासमै गोल गर्ने दोस्रो ज्येष्ठ (बुढा) खेलाडी समेत बनेका छन् । उनले ४१ वर्ष १३८ दिनको उमेरमा उज्बेकिस्तान विरुद्ध गोल गर्दै यो सफलता हात पारेका हुन् । विश्वकपमा सबैभन्दा बढी उमेरमा गोल गर्ने कीर्तिमान भने क्यामरुनका रोजर मिल्लाको नाममा छ, जसले सन् १९९४ को विश्वकपमा ४२ वर्ष ३९ दिनको उमेरमा रसियाविरुद्ध गोल गरेका थिए ।

    पहिलो खेलको बराबरीपछि दबाबमा रहेको पोर्चुगलले यस विशाल जितसँगै समूह ‘के’ मा ४ अंक जोड्दै आफ्नो स्थिति बलियो बनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ