विराटनगर । हुलाकी राजमार्गअन्तर्गत मोरङको कटहरी खण्डमा एकै स्थानमा तीन वटा मालवाहक ट्रक फसेका छन्। विराटनगर–हाटखोला हुँदै कटहरीको रामचोकसम्म पर्ने उक्त खण्डमा सोमबार एकैसाथ तीन ट्रक खाल्डोमा फसेपछि सवारी आवागमन प्रभावित भएको छ।
बर्खायाममा कच्ची सडक हिलोमा परिणत हुँदा यसअघि पनि मालवाहक सवारी फस्ने गरेका थिए। सोमबार पनि तीन ट्रक फसेपछि सो खण्डमा सवारी सञ्चालन रोकिएको ट्राफिक प्रहरीले जनाएको छ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलका अनुसार वर्षा र कमजोर सडक संरचनाका कारण गाडीहरू बारम्बार फस्ने समस्या देखिएको हो।
‘बर्खाको समय र कच्ची बाटो भएकाले धेरै लोड बोकेका गाडीहरू फसेका छन्,’ उनले भने, ‘हामीले मेसिन पठाएर सडक खुलाउने तयारी गरिसकेका छौँ।’
राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गअन्तर्गत मोरङ खण्ड करिब ४४ किलोमिटर पर्छ। त्यसमध्ये विराटनगर हाटखोलादेखि कटहरी रामचोकसम्म करिब ६ किलोमिटर सडक अहिले पनि अत्यन्तै जर्जर अवस्थामा छ।
२०७६ सालमा श्रेष्ठ कन्ट्रक्सन कम्पनी प्रालि, काठमाडौंसँग ठेक्का सम्झौता भए पनि काम समयमै सम्पन्न नभएपछि ठेक्का तोडिएको थियो। त्यसयता सडक अलपत्र अवस्थामा छ।
योजना कार्यालयका अनुसार कटहरी खण्डका लागि नयाँ ठेक्का आह्वान गर्ने तयारी भइरहेको छ। मन्त्रालयबाट सहमति प्राप्त भइसकेको र लागत इस्टिमेट स्वीकृत भएपछि यसै साता नयाँ ठेक्का सूचना प्रकाशित गरिने जनाइएको छ।
ठेक्का रद्दविरुद्ध परेको मुद्दा सर्वोच्च अदालतबाट खारेज भइसकेकाले अब नयाँ ठेक्का प्रक्रियामा कानुनी बाधा नरहेको कार्यालयले जनाएको छ।
सरकारले पूर्व–पश्चिम हुलाकी राजमार्गका लागि करिब २९ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।
प्रतिक्रिया