काठमाडौँ । सम्पत्ति शुद्धीकरण कसुरमा २६ अर्ब ६३ करोड भन्दा बढी बिगो दाबी गर्दै मुद्दा चलाइएका व्यवसायी दीपक भट्टको विशेष अदालतमा बयान नसकिएपछि न्यायिक हिरासतमा पठाइएको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्य न्यायाधीशहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासमा बयान लिइएको थियो । शुक्रबार भट्टको बयान पूरा नभएपछि पुनः सोमबार पनि निरन्तर हुनेछ । बयान सकिएपछि थुनछेक हुनेछ।
त्यस्तै प्रतिवादी सुलभ अग्रवालको बयान शुक्रबार स्थगन गरिएको छ । बयानकै क्रममा उनी अस्वस्थ भएपछि बयान स्थगन गरिएको हो। अग्रवाललाई पनि न्यायिक हिरासतमा पठाइएकाे छ।
सम्पत्ति शुद्धीकरण मुद्दामा दिपक भट्ट, शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल र शंकरलाल अग्रवाल, सन्दीप चाचन अग्रवाल र अमित मोर सहितलाई प्रतिवादी कायम गरिएको छ । सन्दीप चाचन ब्रोकिङ कम्पनी दलाल नम्बर ५५ को अध्यक्ष हुन् ।
हिमालयन रि–इन्स्योरेन्स सहितका कम्पनीहरूको रकम दुरुपयोग गरेर सम्पत्ति शुद्धीकरण गरेको कसुरमा उनीहरुविरुद्ध मुद्दा दर्ता गरेको हो । सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न दिपक भट्टलाई चैत १९ मा पक्राउ गरिएको थियो । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल चैत २२ मा पक्राउ परेका थिए ।
मुद्दामा प्रतिवादी बनाइएका भट्टमाथि सम्पत्ति शुद्धीकरण बापत २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार, ५९ रुपैयाँ ६८ पैसा बिगो दाबी गरिएको छ। अदालतमा पेस भएको अभियोगपत्रअनुसार आर्थिक वर्ष २०७४/७४ मा आफ्नो स्वामित्वमा रहेको घर तथा जग्गाको पुनःमूल्यांकन गरी थप मूल्य ३५ करोड ६८ लाख ८६ हजार २३ पैसा जोडेर सम्पत्तिमा कायम गरेको आरोप लगाइएको छ।
इन्फिनिटी होल्डिंग्स प्रालिको आ.व. २०७७/७८ मा थप ४५ करोड पुँजी थप गरिएको अभियोग दाबी छ । त्यसैगरी आ.व. २०७९/८० मा पनि नौ करोड ५० लाख रुपैयाँ पुँजी थप गरेको देखिएको जनाइएको छ।
यी रकम कर्जा अपचलन गरी बैकिङ कसुरमार्फत प्राप्त रकमबाट वृद्धि गरिएको दाबी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छ।
प्रतिक्रिया