काठमाडौँ । तीनदिने भारत भ्रमण सकेको एक सातामै परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणामा मन्त्री खनाल चारदिने (३१ जेठ–३ असार) भ्रमणका लागि बेइजिङ जाने भएका हुन् । खनालको चीन भ्रमणलाई दुई छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध कायम राख्ने प्रयासका रूपमा हेरिएको छ ।
भ्रमणका क्रममा मन्त्री खनालले समकक्षी वाङसँग द्विपक्षीय वार्ता गर्नुका साथै चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेताहरूलाई समेत भेट्नेछन् । भ्रमण निश्चित भएपछि परराष्ट्रमन्त्रीले आवश्यक तयारी थालिकेको परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले बताए ।
उनका अनुसार चीन भ्रमण निश्चित भएपछि मात्र मन्त्री छोटो तयारीमै दिल्ली गएका हुन् । दिल्लीमा रहँदा मन्त्री खनालले भारतीय विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र अन्य उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका थिए । उनीहरूबीच सीमा, व्यापार, वाणिज्य, कनेक्टिभिटी, पूर्वाधार, ऊर्जा र रासायनिक मलको आपूर्तिलगायतका द्विपक्षीय विषयहरूमा छलफल भएको थियो ।
वर्तमान सरकार पश्चिमा मुलुकतर्फ बढी ढल्किएको भन्ने बेइजिङको आशंकाबीच परराष्ट्रमन्त्री खनाल चीन जान लागेको उनीनिकट एक अधिकारीले बताए ।
प्रतिक्रिया