• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    जेनजी आन्दोलनमा बालबालिकाको दुरुपयोग, ५४ जनामाथि थप अनुसन्धान सिफारिस

    1K
    SHARES



    काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा बालबालिकालाई मानव ढालका रूपमा प्रयोग गरिएको निष्कर्ष सार्वजनिक गरेको छ। आयोगले आन्दोलनमा हिंसात्मक गतिविधि उक्साउने भूमिका खेलेको आशंकामा ५४ जनाको पहिचान गरी उनीहरूमाथि थप अनुसन्धान गर्न सिफारिस गरेको छ।

    नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा आयोगद्वारा गठित आन्दोलन जाँचबुझ समितिकी संयोजक तथा आयोग सदस्य डा. लिली थापाले प्रतिवेदन सार्वजनिक गर्दै घटनाका विभिन्न पक्षबारे जानकारी दिएकी हुन्।

    आयोगले घटनासँग सम्बन्धित ४३७ वटा भिडियो सामग्रीको अध्ययन गरेको थियो। भिडियोहरूको सत्यता परीक्षण गर्न बाह्य विज्ञहरूको समेत सहयोग लिइएको आयोगले जनाएको छ। अध्ययनका क्रममा करिब ३५ वटा भिडियो प्रमाणिक देखिएको र ती सामग्रीमा हिंसात्मक गतिविधि भड्काउने अभिव्यक्ति तथा निर्देशनहरू फेला परेको आयोगको दाबी छ।

    प्रतिवेदनअनुसार केही भिडियोमा बालबालिकालाई अगाडि राखेर मानव ढाल बनाउन, विस्फोटक पदार्थ निर्माण गर्न सिकाउन तथा सुरक्षाकर्मीमाथि आक्रमणका लागि उक्साउने गतिविधि देखिएको उल्लेख गरिएको छ।

    आयोगले नेपाली सेनाका केही कमाण्डरहरूलाई भविष्यमा यस्ता घटना दोहोरिन नदिन सचेत गराउन सिफारिस गरेको छ। प्रधानमन्त्रीलाई प्रतिवेदनमा समावेश नगरिएको विषयमा उठेका प्रश्नको जवाफ दिँदै डा. थापाले तथ्य र प्रमाणका आधारमा मात्र निष्कर्ष निकालिएको बताइन्।

    उनले आयोग कुनै दबाब वा प्रभावमा नपरी मानव अधिकारको दृष्टिकोणबाट घटनाको विश्लेषण गरी प्रतिवेदन तयार गरिएको दाबी गरिन्। पीडित परिवारको पीडा, घाइते तथा मृतक युवाको अवस्थालाई समेत आधार बनाएर सिफारिसहरू तयार पारिएको उनको भनाइ थियो।

    आयोगका अनुसार पहिचान गरिएका ५४ जनामध्ये केहीले संलग्नता अस्वीकार गरे पनि उपलब्ध प्रमाणका आधारमा उनीहरूको भूमिकामाथि थप अनुसन्धान आवश्यक देखिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ