काठमाडौँ । । एसियन गेम्स पुरुष छनोट २०२६ अन्तर्गत दोस्रो खेलमा नेपालले मलेसियामाथि विशाल अन्तरको जित हात पारेको छ । बिहीबार सिंगापुरमा सम्पन्न खेलमा नेपाल १ सय ६७ रनले विजयी बनेको हो ।
नेपालले प्रस्तुत गरेको २ सय ७६ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८ रन मात्र बनाउन सक्यो ।
मलेसियाका लागि कप्तान सयेद अजिजले अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । उनले ४५ बलमा ६ चौका र २ छक्काको मद्दतले ५४ रन जोडे ।
सर्विन मुनैयान्डीले १८ रन तथा ओपनर मुहमद हाजिक ऐमानले १३ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
मलेसियालाई सस्तोमा समेट्न शेर मल्लले ४ ओभर बलिङ गर्दै मात्र १४ रन खर्चेर ३ विकेट लिए । कुशल मल्ल, सन्दीप लामिछाने, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र करन केसीले १-१ विकेट लिए ।
यसअघि, टस हारेर पहिले ब्याटिङमा उत्रेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय ७५ रन बनाएको थियो । ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई विस्फोटक सुरुवात दिलाए । पावरप्लेमा नै रेकर्ड ९५ रन बनाएका दुई जनाले शतकीय तीव्र गतिमा रन बनाउँदै शतकीय साझेदारी गरे ।
कुनै पनि टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले पावरप्लेमा बनाएको यो सबैभन्दा उच्च स्कोर हो । यसअघि सन् २०२३ को एसियन गेम्समा नेपालले ८२ रन बनाएको थियो । नवौँ ओभरमा आउट हुन अघि शेखले मात्र २४ बलमा ६८ रन बनाए । उनले यसक्रममा ५ चौका र ७ छक्का प्रहार गरे ।
भुर्तेलले भने आफ्नो टी–२० अन्तर्राष्ट्रिय करियरमा लगातार दोस्रो तथा समग्रमा तेस्रो शतक बनाउन सफल भए । उनले मात्र ५४ बलमा १२६ रनको योगदान दिए । उनले १४ चौका र ८ छक्का प्रहार गरे ।
उनी नेपालका लागि टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा धेरै रन बनाउने खेलाडी पनि बनेका छन् । यसअघि यो रेकर्ड दीपेन्द्र सिंह ऐरीको नाममा थियो । दीपेन्द्रले ९८ खेलमा २ हजार १८० रन बनाउँदै यो रेकर्ड कायम गरेका थिए । भुर्तेलले मात्र ७८ खेलमा यो रेकर्ड उछिन्न सफल भए ।
शेख आउट भएपछि मैदान प्रवेश गरेका सन्दीप जोराले १४ बलमा १५ रन जोडेर पभेलियन फर्किए । उनले २ छक्का प्रहार गरे ।
कप्तान दीपेन्द्र सिंह ऐरीले विस्फोटक ब्याटिङ गर्दै मात्र ११ बलमा ३१ रन हिर्काए । उनले १ चौका र ४ छक्का प्रहार गरे । लोकेश बमले ६ बलमा २ चौका प्रहार गर्दै १० रन जोडे ।
कुशल मल्लले ९ रन तथा करन केसीले ७ रन बनाए । रोहित पौडेल पहिलो बलमा नै पभेलियन फर्किन बाध्य भए । मलेसियाका लागि वीरनदीप सिंहले ४ ओभर बलिङ गर्दै २२ रन खर्चर ३ विकेट लिए । विजय उन्नीले र सयेद अजिजले २-२ विकेट लिए ।
समूह ए मा रहेको नेपालले पहिलो खेलमा पनि चीनविरुद्ध विशाल लक्ष्य प्रस्तुत गर्दै कीर्तिमानी जीत हात पारेको थियो । नेपालले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा ३ सय १३ रन बनाएको थियो भने चीन ९२ रनमा अलआउट हुन पुग्यो । टोली २ सय २१ रनको विशाल अन्तरले विजय भएको थियो ।
प्रतिक्रिया