न्यूयोर्क । अमेरिकाको न्यूयोर्क सिटीमा पछिल्ला केही सातायता मानिसहरू सडकका म्यानहोल (ढल तथा भूमिगत सेवा प्रणालीमा प्रवेश गर्ने ढकनी) बाट बाहिर निस्किरहेको देखिएपछि प्रहरीले त्यसबारे अनुसन्धान थालेको छ ।
यो अनुसन्धान सामाजिक सञ्जालमा भाइरल भएका धेरै भिडियोहरू सार्वजनिक भएपछि सुरु गरिएको हो । ती भिडियोहरूमा रातको समयमा विभिन्न स्थानमा मानिसहरू भूमिगत ढल प्रणालीबाट माथि निस्कँदै गरेको देखिन्छ ।
न्यूयोर्क सिटीको प्रहरी विभागले सोमबार दिएको वक्तव्यमा भनिएको छ, ‘सार्वजनिक सुरक्षामा कुनै खतरा छ कि छैन भन्ने सुनिश्चित गर्न एनवाईपीडीले आफ्नो उच्च प्रशिक्षित आपतकालीन सेवा इकाइका अधिकारीहरूलाई ढल प्रणालीभित्र पठाएको थियो । ती व्यक्तिहरूले कुनै हानिकारक वा शंकास्पद वस्तु छाडेर गएका छन् कि भनेर खोजी गरिएको थियो, तर त्यस्तो केही फेला परेन ।’
प्रहरीका अनुसार, ढल प्रणालीको व्यवस्थापन गर्ने न्यूयोर्क सिटी डिपार्टमेन्ट अफ इन्भाइरोमेन्टल प्रोटेक्सनका कर्मचारीहरूले पनि प्रणालीभित्र निरीक्षण गरेका थिए र ढल सम्बन्धी उपकरण वा संरचनामा कुनै क्षति नभेटिएको बताएका छन् । हालसम्म यस घटनासँग सम्बन्धित कुनै पक्राउ परेको छैन र यस विषयसँग जोडिएर कसैलाई केहि पनि भएको जानकारी आएको छैन ।
एनबीसीसँग कुरा गर्दै एक वरिष्ठ कानुन कार्यान्वयन अधिकारीले अनुसन्धानकर्ताहरूले विचार गरिरहेको एउटा सम्भावित सिद्धान्तबारे बताएका छन् । उनका अनुसार ती व्यक्तिहरू ढल प्रणालीमा बगेर जाने मूल्यवान वस्तुहरू खोजिरहेका हुन सक्छन् ।
प्रहरीका अनुसार पहिलो पटक गत बिहीबार राति करिब ११ बजे यस्तो गतिविधिबारे जानकारी प्राप्त भएको थियो । एक प्रत्यक्षदर्शीले न्चबखभकभलम क्षेत्रमा पर्ने म्याकडोनाल्ड एभिन्यू र कोलिन प्लेस नजिक आठ जनाले म्यानहोलको ढकनी हटाएको देखेको जानकारी दिएका थिए ।
एनवाईपीडीका अनुसार करिब तीन घण्टापछि ती व्यक्तिहरू पुनः सोही म्यानहोलबाट बाहिर निस्किएको देखिएको थियो । सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भिडियोमा आठ जना मानिस ढल प्रणालीबाट बाहिर आएर पार्क गरिएका केही गाडीको छेउमा लुगा फेर्दै गरेको देखिन्छ ।
ग्रेभसेन्डको घटनाको करिब दुई घण्टापछि प्रहरीले अर्को फोन प्राप्त ग¥यो । यसपटक विलिमवर्ग क्षेत्रमा पर्ने हेवार्ड स्ट्रिट र बेडफोर्ड एभिन्यू नजिक केही मानिसहरू म्यानहोलभित्र प्रवेश गरेको सूचना आएको थियो ।
अधिकारीहरूका अनुसार उक्त समूह दुई घण्टा तीस मिनेटभन्दा बढी समयपछि पुनः सतहमा फर्कियो र त्यसपछि एउटा कारमा चढेर त्यहाँबाट निस्कियो । स्थानीय सञ्चारमाध्यम विलियम्सबर्ग ३६५ ले प्राप्त गरेको भिडियोमा सात जना मानिस म्यानहोलबाट बाहिर निस्किएको देखिन्छ। अन्तिम व्यक्तिले बाहिर निस्किएपछि म्यानहोलको ढकनी पुनः बन्द गरेको पनि भिडियोमा देखिएको छ ।
यी घटनाहरू गत मे ५ मा भएको यस्तै एउटा घटनासँग मिल्दोजुल्दो देखिएका छन् । त्यसबेला एस्टारियाका बासिन्दाहरूले राति करिब २ बजे २०औँ एभिन्यू र ३६औँ स्ट्रिट नजिक केही मानिसहरूले म्यानहोलको ढकनी खोलेको देखेको बताएका थिए ।
एनबीसी न्यूयोर्कसँग कुरा गर्दै प्रत्यक्षदर्शी अकी जाकुपोभिचले भने, ‘तीन जना अपरिचित व्यक्ति अनौठो पोशाक लगाएर हिँडिरहेका थिए । उनीहरूले ढलको ढकनी खोले र ‘निन्जा टर्टल्स’ जस्तै भित्र पसे ।’
एनबीसी न्यूयोर्कले प्राप्त गरेको निगरानी क्यामेराको फुटेजमा ती व्यक्तिहरू टर्चलाइट बोकेका र पानी तथा हिलोमा प्रयोग गरिने लामो विशेष बुट लगाएका देखिन्छन् ।
जाकुपोभिकले थप भने, ‘म उनीहरूलाई हेर्दै थिएँ, उनीहरू मलाई हेरिरहेका थिए। मलाई लाग्यो उनीहरूको नियत ठीक थिएन। उनीहरू भित्र पसे, ढकनी बन्द गरे र त्यसपछि यस्तो लाग्यो मानौँ उनीहरू कहिल्यै त्यहाँ आएका नै थिएनन् ।’ हालसम्म यी सबै घटनाहरू आपसमा सम्बन्धित छन् वा छैनन् भन्ने स्पष्ट भएको छैन
प्रतिक्रिया