काठमाडौं । नेपालले पनि भारतको सीमा मिचेको रहेछ भन्ने प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति प्रतिपक्ष नेकपा (एमाले)ले आपत्ति जनाएको छ ।
आइतबार सिंहदरबारस्थित संसद् परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा एमालेका सांसद गुरुप्रसाद बरालले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले आम नेपालीको शिर झुकाएको उल्लेख गर्दै त्यसलाई गम्भीरतापूर्वक लिने बताए ।
‘नेपालले समेत भारतको भूमि मिचेको रहेछ । म प्रधानमन्त्री भएपछि यो कुरा थाहा पाएँ भनेर प्रधानमन्त्रीले जसरी आज हाउसमा बोल्नुभएको छ यसले हामी सबै नेपालको शिर झुकेको छ,’ उनले भने ।
उनले प्रधानमन्त्रीको सो अभिव्यक्तिले सबै नेपालीको प्रतिष्ठामा आँच आएको जिकिर पनि गरे ।
‘प्रधानमन्त्रीको हैसियतले यसरी देशको सीमाका विषयमा नेपालले भारतको सिमाना मिचेको छ भनेर अत्यन्तै दु:खद् छ । गम्भीर आपत्तिजनक छ । र, आज यो सबै नेपालीहरूका लागि गम्भीर प्रतिष्ठाको विषय बन्यो’ बरालले भने, ‘देशको शिर यसले झुकाएको छ । हामी यो विषयलाई गम्भीरतापूर्वक उठाउन चाहन्छौं। यो कुरा सबै नेपाली सबै देशभक्त स्वाभिमानीहरूको शिरमाथि उहाँले धब्बा लगाउनुभएको छ ।’
सांसद बरालले प्रधानमन्त्री शाहले नेपाली जनताको प्रतिष्ठामा आँच आउने खालको अभिव्यक्ति दिन थालेको पनि बताए ।
प्रतिक्रिया