काठमाडौँ । नुवाकोटको म्यागम गाउँपालिका–४ स्थित किम्ताङ बेसीका दाजुभाइ वैशाख २९ मा घरबाट कुलो बनाउन निस्केका थिए । ४३ वर्षीय समराज तामाङ र उनका भाइ ३६ वर्षका सूर्यमान तामाङ त्यस दिन साँझ घर फर्केनन् । वैशाख ३० मा बिहान किम्ताङ खोला किनारमा ढुङ्गाले छोपेर राखेको अवस्थामा शव भेटियो । भरुवा बन्दुक प्रयोग गरेर उनीहरूको हत्या गरिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
हत्यामा संलग्न आरोपमा त्यही गाउँका धनबहादुर तामाङ उर्फ धने र सोमबहादुर तामाङ उर्फ माइलालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरू वैशाख ३१ मा पक्राउ परेका हुन् । हत्यापछि भागेका उनीहरूलाई धादिङको खनियाबास गाउँपालिका वडा नम्बर–५ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी विक्रम लामाले रातोपाटीलाई बताए ।
किम्ताङ खोलामा बन्दै गरेको कुलोको पेटी ठेक्काको विवादमा दाजुभाइको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । मृतक दाजुभाइ यसअघि पनि गाउँमा ठेक्कापट्टा गर्थे । हत्यामा संलग्न धने र माइला मजदुर हुन् । बन्दै गरेको कुलोमा उनीहरुले काम गर्न खोजेका थिए ।
समराज र सुर्यमानले ठेक्का अर्कैले पारेको हुनाले आफूहरूले काम दिन नसक्ने बताएपछि उनीहरूको बिचमा विवाद चर्केको थियो । उनीहरूको बिचमा त्यसअघिको पुरानो विवाद पनि कायमै रहेको डीएसपी विक्रम लामाले बताए । यसअघि पनि उनीहरूको बिचमा झगडा भएको थाहा भएको छ ।
त्यस दिन सुरुमा उनीहरूको बिचमा फोनमा बाझाबाझ हुन्छ । विवाद भएपछि मोटरसाइकल लिएर समराज र सूर्यमान खोलातिर झर्छन् । बाटोमा धने र माइला बन्दुक लिएर बसेका थिए । अनुसन्धानमा संलग्न अधिकृतका अनुसार बाटोमा कुरेर बसेका आरोपीहरूले भरुवा बन्दुकले उनीहरूलाई प्रहार गरेका हुन् ।
सूर्यमानको छातीमा गोली लागेको छ । दाइ समराजको टाउको पछाडिको भागमा बन्दुकको बटले प्रहार गरेर हत्या गरेको थाहा भएको डीएसपी लामाले बताए । उनले भने, ‘समराजको टाउकोमा बन्दुकको बटको चोट देखिन्छ, हामीले बन्दुक पनि बरामद गरेका छौँ ।’
प्रहरीले घटनास्थलबाट ३ वटा भरुवा बन्दुक बरामद गरेको छ । दुई वटा बन्दुक हत्या आरोपी र एउटा बन्दुक मृतक दाजुभाइले लिएर गएको थाहा भएको छ ।
खोलाभन्दा केही माथि हत्या गरेर आरोपीहरूले खोला किनारमा ल्याएर शव व्यवस्थापन गरेका हुन् । प्रहरीले यसअघि थप ४ जनालाई पनि सोधपुछको लागि नियन्त्रणमा लिएको थियो । उनीहरूको संलग्नता पुष्टि नभएपछि चार जनालाई रिहा गरिएको डीएसपी लामाले बताए । उनले भने– ‘हत्यामा संलग्न दुई जना विरुद्ध अदालतबाट ज्यान सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेका छौँ ।’
मृतक दाजुभाइको शव त्रिशूली अस्पतालमा पोस्टमार्टम गरिएको छ । पोस्टमार्टमको रिपोर्ट आएको छैन । घटनास्थलबाट प्रहरीले ३ वटा भरुवा बन्दुकसहित खुकुरी र एउटा मोटरसाइकल बरामद गरेको छ । फोनमा बाझाबाझ भएपछि मृतकहरू आफूहरूसँग झगडा गर्न आएको धने र माईलाले अनुसन्धान अधिकृतहरूलाई बताएका छन् ।
प्रतिक्रिया