• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    इरान युद्धबारे पुटिन- हामीलाई अफ्ठ्यारोमा पारे, सबै सहमत भए तनाव कम गर्न भूमिका खेल्छाैं 

    345
    SHARES



    काठमाडौँ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरान युद्धका कारण आफूहरू अफ्ठ्यारोमा परेको बताएका छन्।

    मस्कोमा पत्रकारहरूसँगको कुराकानीमा पुटिनले इरानसँगै मध्यपूर्वका अन्य देशहरूसँग पनि राम्रो सम्बन्ध भएकाले इरान युद्धका कारण मस्कोलाई अफ्ठ्यारो परेको बताएका हुन्।

    ‘इरान अहिले जटिल र गम्भीर परिस्थितिमा छ। इरान र क्षेत्रका अन्य मुलुक दुवैसँग हाम्रो सम्बन्ध भएकाले रुस पनि कठिन अवस्थामा छ,’ उनले भने।

    उनले सबै पक्ष सहमत भए मध्यपूर्वको तनाव कम गर्न रूसले भूमिका खेल्न सक्ने बताए। इरानले हतियार बनाउन मिल्नेगरी उच्च प्रशोधन गरेको युरेनियम रूसमा राख्न सकिने उनले बताएका छन्।

    इरानी विदेशमन्त्री अब्बास अरागची केही दिनअघि मस्को पुगेर पुटिनसँग भेटेका थिए। त्यतिबेला इरानको उच्च प्रशोधित युरेनियमबारे कुरा भएको थियो।

    इरानले ६० प्रतिशतसम्म प्रशोधित गरेको ४०० किलो युरेनियम अमेरिकाले आफूलाई हस्तान्तरण गर्नुपर्ने भनेको थियो। इरानले भने अमेरिकाबाहेकको देशलाई हस्तान्तरण गर्न सक्ने भनेको थियो।

    ‘इरानको समृद्ध युरेनियम स्थानान्तरण गर्ने सम्बन्धमा रूसको प्रस्तावहरू अझै पनि टेबलमा छ,’ उनले शनिबार पत्रकारहरूसँग भने। त्यो प्रस्ताव अहिले पनि तनाव कम गर्ने व्यावहारिक विकल्प हुन सक्ने उनले बताएका छन्।

    पुटिनले हाल इरानसँग सम्बन्धित कूटनीतिक प्रक्रिया ठप्पजस्तै बनेको स्वीकार गर्दै सबै पक्षले आफ्नो अडान कठोर बनाएका कारण अवस्था ‘डेडलक’ मा पुगेको बताए।

    उनले तनाव थप बढे सम्पूर्ण क्षेत्रले ठूलो क्षति व्यहोर्नुपर्ने चेतावनी दिँदै क्षेत्रीय स्थायित्वका लागि सम्झौतामा पुग्न आग्रह गरे। रुसले पछिल्ला वर्षहरूमा इरानसँग सैन्य, ऊर्जा र रणनीतिक सहकार्य उल्लेख्य रूपमा विस्तार गरेको छ।

    अमेरिकी र युरोपेली अधिकारीहरूले युक्रेन युद्धमा प्रयोग भएका ड्रोन तथा केही सैन्य प्रविधिमा इरानले रुसलाई सहयोग गरेको आरोप लगाउँदै आएका छन्। इरानले भने प्रत्यक्ष सैन्य संलग्नता अस्वीकार गर्दै आएको छ। रूसले इरानमा अमेरिका र इसराइली हमला हुँदा तेहरानलाई खुफिया सूचना उपलब्ध गराएको थियो।

    त्यसैगरी रुसले सिरियामा पनि इरानसँग मिलेर काम गर्दै आएको छ। सिरियाली राष्ट्रपति बशर अल-असद सरकारलाई टिकाइराख्न मस्को र तेहरान दुवैले महत्वपूर्ण सैन्य समर्थन दिएका थिए। यही कारण रुसले इरानलाई पूर्ण रूपमा अलग गर्न सक्ने कुनै कदम चाल्न चाहँदैन।

    तर अर्कोतर्फ रुसले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार तथा इसराइलजस्ता मध्यपूर्वका अन्य शक्तिशाली मुलुकसँग पनि सम्बन्ध कायम राख्न खोजिरहेको छ। विशेषगरी तेल बजार, ऊर्जा सहकार्य र क्षेत्रीय सुरक्षाका कारण मस्कोले सबै पक्षसँग सन्तुलित सम्बन्ध राख्ने रणनीति अपनाउँदै आएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ