काठमाडौं । चन्द्रागिरि नगरपालिका–८, वाजचौरस्थित श्री सेतिदेवी आधारभूत विद्यालयका विपन्न विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण गरिएको छ। पूर्व प्रशासक तथा समाजसेवी खड्गबहादुर श्रेष्ठ र जागरण महिला विकास समाज नेपालकी अध्यक्ष सुगन्धा सुवेदी सिग्देलको विशेष पहलमा २०८३ वैशाख २५ गते आयोजित कार्यक्रममा विद्यालयका अति विपन्न ५८ जना छात्र–छात्रालाई ट्र्याकसुट वितरण गरिएको हो।
सुगन्धा सुवेदी सिग्देलको संयोजनमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै खड्गबहादुर श्रेष्ठले काठमाडौं नजिकैको दक्षिणी भेगका अधिकांश सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरू राज्यको उपेक्षामा परेको उल्लेख गरे। उनले पिछडिएका जिल्लाबाट आएका मजदुर परिवारका छोराछोरीहरू कठिन आर्थिक अवस्थाकाबीच अध्ययन गरिरहेको भन्दै उनीहरूको सहयोगका लागि परिवार, साथीभाइ तथा समाजसेवीहरूबाट सानो–सानो सहयोग संकलन गरेर निरन्तर साथ दिँदै जाने प्रतिबद्धता व्यक्त गरे।
उनले विद्यार्थीहरूको संख्यात्मक तथा गुणात्मक स्तर वृद्धि गर्न आवश्यक रहेको उल्लेख गर्दै साना बालबालिकाले अध्ययनसँगै सरसफाइमा पनि ध्यान दिनुपर्ने बताए। विद्यालय पोशाक सफा राख्न र अनुशासनमा ध्यान दिन उनले विद्यार्थीहरूलाई सुझाव दिएका थिए।

कार्यक्रममा बोल्दै सुगन्धा सुवेदी सिग्देलले आफ्नो पहलमा यसअघि पनि विभिन्न विद्यालयमा सहयोग सामग्री वितरण गरिएको जानकारी गराइन्। उनका अनुसार चुनदेवी आधारभूत विद्यालयमा ट्र्याकसुट, नारायण जन माध्यमिक विद्यालय, भैरवनाथ माध्यमिक विद्यालय तथा महालक्ष्मी आधारभूत विद्यालय मा स्टेशनरी, जुत्ता, स्कुल ड्रेस, बेल्ट लगायतका सामग्री वितरण गरिँदै आएको छ। उनले आवश्यकता भएका स्थानमा आगामी दिनमा पनि यस्ता सामाजिक तथा शैक्षिक सहयोगलाई निरन्तरता दिइने बताइन्।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, विद्यार्थी तथा सहयोगी महानुभावहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक उद्वव भण्डारीले सहयोगी सबैप्रति धन्यवाद व्यक्त गरेका थिए। कार्यक्रममा जागरण महिला विकास समाज नेपालका पदाधिकारी तथा सदस्यहरुको पनि सहभागिता रहेको थियो।
कार्यक्रम समापनपछि समाजसेवी तथा सेवा निवृत्त कर्मचारीहरू ऋदीनाथ सिग्देल, रामकृष्ण श्रेष्ठ, दिपक दनई, राजु प्रसाद लामीछाने, राधेश्याम कार्की, हेमन्त सिग्देल, बमबहादुर मोक्तान तथा खड्गबहादुर श्रेष्ठले नियमित रूपमा आफ्नो तर्फबाट केही रकम संकलन गरी सामाजिक कार्यमा खर्च गर्ने तथा सेवाभाव भएका अन्य व्यक्तिहरूलाई पनि अभियानमा सहभागी गराउँदै लैजाने सहमति गरेका छन्।
प्रतिक्रिया