काठमाडौं । रूसले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मा इरानका सम्बन्धमा अमेरिका र बहराइनद्वारा प्रस्तुत मस्यौदा प्रस्तावलाई समर्थन नगर्ने स्पष्ट पारेको छ ।
रूसी उप-परराष्ट्रमन्त्री अलेक्ज्याण्डर अलिमोभले मस्कोले उक्त दस्तावेजमा कुनै सकारात्मक सम्भावना नदेखेको उल्लेख गर्दै अमेरिका र बहराइनलाई आफ्नो प्रस्ताव फिर्ता लिन आह्वान गरेका छन् ।
‘इज्वेस्टिया’ दैनिकसँग कुरा गर्दै उप-परराष्ट्रमन्त्री अलिमोभले सुरक्षा परिषद्को वार्ताको टेबुलमा अहिले अमेरिका र बहराइनको संयुक्त मस्यौदा रहेको र त्यसलाई रूसले कुनै हालतमा समर्थन गर्न नसक्ने बताएका हुन् ।
उनले यस विषयमा हतारमा निर्णय नगर्न र प्रस्तावलाई फिर्ता लिन सह-लेखक राष्ट्रहरूलाई आग्रह गरेका छन् । अलिमोभका अनुसार वार्ताको टेबुलमा रूस र चीनले तयार पारेको अर्को मस्यौदा प्रस्ताव अझै पनि छलफलका क्रममा रहेको छ।
रूस र चीनको उक्त प्रस्तावमा द्वन्द्वरत पक्षहरूलाई युद्ध अन्त्य गर्न, बल प्रयोग नगर्न र वार्ताको माध्यमबाट मतभेद सुल्झाउन स्पष्ट आह्वान गरिएको छ । रूसी उप-परराष्ट्रमन्त्रीले उक्त मस्यौदामा समुद्री मार्गको स्वतन्त्रता सुनिश्चित गर्ने महत्त्वलाई पनि जोड दिइएको तर हालसम्म त्यसमाथि कुनै अन्तिम निर्णय भने भइनसकेको जानकारी दिएका छन् ।
पछिल्लो समय इरान र अमेरिकाबीच भइरहेका आक्रमण र प्रत्याक्रमणप्रति चिन्ता व्यक्त गर्दै रूसले वार्ताको माध्यमबाट ठोस नतिजा निस्कनेमा आशा व्यक्त गरेको छ ।
अलिमोभले रूस सधैँ बिनाशर्त हिंसाको अन्त्य र वासिङ्टन तथा तेहरानबीच स्थायी सहमतिका लागि राजनीतिक एवं कूटनीतिक समाधानको पक्षमा रहेको बताएका छन् । वार्ता प्रक्रियामा बाधा पुर्याउने कुनै पनि कदम चिन्ताको विषय हुनेमा समेत उनले जोड दिएका छन् ।
प्रतिक्रिया