• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    इरानले पठाएको नयाँ प्रस्तावमा ट्रम्पले भने- स्वीकारयोग्य छैन

    301
    SHARES



    काठमाडौँ । इरानले अमेरिकालाई वार्ताका लागि नयाँ प्रस्ताव पठाएको छ। इरान-अमेरिका शान्ति वार्ताका लागि मध्यस्थता गरिरहेको पाकिस्तानमार्फत तेहरानले बिहीबार राति नयाँ प्रस्ताव पठाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    इरानी सञ्चारमाध्यमहरूले पनि पाकिस्तानमार्फत अमेरिकालाई नयाँ प्रस्ताव पठाइएको पुष्टि गरेका छन्। यद्यपि प्रस्तावमा के उल्लेख छ भन्ने बारेमा खुलाइएको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानबाट नयाँ प्रस्ताव प्राप्त भएको बताएका छन्।

    फ्लोरिडामा शुक्रबार आयोजित एक कार्यक्रममा ट्रम्पले इरानसँगको द्वन्द्व चाँडै नसकिने बताएका छन्। उनले आणविक हतियार सम्बन्धीबाहेकका विषयमा सम्झौता गरिहाले दुई/तीन वर्षमा फेरि समस्या उत्पन्न हुने बताए।

    त्यसकारण इरानको आणविक हतियार कार्यक्रम अन्त्य हुनुपर्ने अमेरिकाको अडान रहेको उनले बताएका छन्। ह्वाइट हाउसमै पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले इरानको नयाँ प्रस्तावबाट आफू सन्तुष्ट नरहेको बताएका छन्।

    ‘उनीहरू सम्झौता गर्न चाहन्छन्। तर म यसबाट सन्तुष्ट छैन,’ ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूलाई भने, ‘इरानी नेतृत्व धेरै असंगत र दुई/तीन समूहमा विभाजित छ।’ उनले अमेरिकाले दिनै नसक्ने कुरा तेहरानले माग गरेको बताए।

    ‘तिनीहरू त्यस्ता कुराहरू मागिरहेका छन् जसमा म सहमत हुन सक्दिनँ,’ उनले भने। इरानसँग टेलिफोनमार्फत वार्ता जारी रहेको पनि उनले बताएका छन्।

    इस्लामावादको वार्ता असफल भएपछि इरानले अमेरिकालाई यसअघि पनि प्रस्ताव पठाएको थियो। उक्त प्रस्तावमा तत्कालका लागि स्ट्रेट अफ हर्मुज खुला गरेर युद्ध अन्त्य गर्ने र आणविक कार्यक्रमबारे पछि छलफल गर्ने भनिएको थियो।

    ट्रम्पले सो प्रस्तावमा पनि असन्तुष्टि जनाएका थिए। अहिले हर्मुजमा अमेरिकाले नाकाबन्दी लगाउँदा इरानले तेल बेच्न पाएको छैन। अहिले तेल बेच्न नपाएकाले इरानको तेल भण्डार भरिन लागेको बताइन्छ।

    भण्डारण क्षमतामा दबाब बढेपछि इरानले उपयोग गर्न छाडिएका पुराना ट्यांकीसमेत प्रयोग गर्न थालेको भनेर मंगलबार मात्रै अमेरिकी पत्रिका ‘द वाल स्ट्रिट जर्नल’ ले लेखेको छ। केही साता नाकाबन्दी लम्बिए इरानले तेलखानी नै बन्द गर्नुपर्ने अवस्था देखिन्छ।

    खानी चालु नहुँदा बिग्रिन सक्छन्। खानी बिग्रिए युद्ध अन्त्य भएपछि पनि इरानले तुरून्तै तेल निकाल्न सक्ने छैन। त्यसैले इरानले ढिलो-चाँडो आणविक कार्यक्रमबारे आफ्नो सर्त मान्नेछ भनेर ट्रम्पले नाकाबन्दी लगाइरहेका छन्।

    त्यो नभए इरानमा फेरि आक्रमण गर्ने विकल्प पनि ट्रम्पका लागि खुला छ। अमेरिकाले फेरि आक्रमण गर्न सक्छ भन्ने अनुमान इरानले पनि गरेको छ। उसले इरानले हवाई प्रतिरक्षा प्रणाली सक्रिय बनाएको र आक्रमण भएमा व्यापक प्रतिक्रिया दिने योजना बनाएको भनेर रोयटर्सले लेखेको छ। अमेरिकाले इरान वरपर ठूलो संख्यामा सेना र युद्धपोतहरू जम्मा गरेको छ।

    इरानलाई सम्झौताका लागि दबाब दिनका लागि अमेरिकाले सैन्य शक्ति जम्मा पारेको भए पनि लामो समयदेखि वार्ता अवरूद्ध हुँदा ट्रम्प फेरि सैन्य कारबाहीतर्फ अघि बढ्ने सम्भावना पनि रहन्छ।

    अमेरिकाले छोटो र भीषण आक्रमण गर्ने र त्यसपछि इसराइली आक्रमण हुने अनुमान गरेको दुई वरिष्ठ अधिकारीहरूलाई उद्धृत गरेर रोयटर्सले लेखेको छ। इरानमा पुनः आक्रमणबारे अमेरिकी कंग्रेसका दुई नेताहरूले ट्रम्पको तयारीबारे समेत बुझेका थिए।

    कंग्रेस नेताहरूसँग ट्रम्पले इरानमा युद्ध लम्ब्याउन संसदको अनुमति आवश्यक नभएको बताएका थिए। नेताहरूले इरानमा अमेरिकी विकल्पबारे सोधेका प्रश्नमा ट्रम्पले अहिलै पुनः आक्रमण नगरिने बताएका थिए।

    ‘के हामी गएर उनीहरूलाई पूर्ण रूपमा ध्वस्त पार्ने हो, कि कुनै सम्झौता गर्ने प्रयास गर्ने हो? मानवीय दृष्टिकोणले हेर्दा म सैन्य विकल्प रोज्न चाहन्नँ,’ ट्रम्पको भनाइ उद्धृत गर्दै रोयटर्सले लेखेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ