• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश समाचार

    सरकारको ‘आधा सिलिन्डर’ नीति ग्यास व्यवसायीले नमान्ने, सोमबारदेखि फुल सिलिन्डर बेच्ने

    186
    SHARES



    काठमाडौं । बजारमा देखिएको ग्यास अभाव टार्न सरकारले ल्याएको ‘आधा सिलिन्डर’ नीति ग्यास व्यवसायीले नमान्ने घोषणा गरेका छन् ।

    ग्यास व्यवसायीले सरकारको औपचारिक निर्णय नपर्खी आगामी सोमबारदेखि उपभोक्तालाई १४.२ किलो (पूरा) तौलकै ग्यास सिलिन्डर बिक्री गर्ने घोषणा गरेका हुन् ।

    ग्यास विक्रेता महासंघ र नेपाल एलपी ग्यास उद्योग संघबीच आज भएको संयुक्त बैठकले यस्तो निर्णय गरेको ग्यास विक्रेता महासंघ अध्यक्ष ज्ञानेश्वर अर्यालले जानकारी दिए ।

    अध्यक्ष अर्यालका अनुसार डिजेल मूल्यमा भएको अप्रत्याशित वृद्धिका कारण ढुवानी खर्च धान्न नसकिने अवस्था आएपछि व्यवसायीहरू यो कदम चाल्न बाध्य भएका हुन् ।

    अध्यक्ष अर्यालले सरकारले यसअघि आधा सिलिन्डर (७.१ किलो) मात्रै भर्ने निर्णय गरे पनि त्यसले व्यवसायी र उपभोक्ता दुवैलाई मार परेको बताएका छन् ।

    अध्यक्ष अर्यालले नेपाल आयल निगमको अदूरदर्शी नीतिका कारण आगामी दुई महिनाभित्र नेपालमा ग्यासको चरम अभाव हुन सक्ने चेतावनी समेत दिएका छन् ।

    नेपाल एलपी ग्यास उद्योग संघका अनुसार अहिले उद्योगका सबै बुलेट ग्यासले भरिभराउ छन् र बजारमा पूर्णक्षमताको सिलिन्डर पठाउन कुनै समस्या छैन । आधा सिलिन्डर मात्र बेच्न पाइने नियमले गर्दा मौज्दात (स्टक) मा रहेको ग्याससमेत बिक्री गर्न कठिन भइरहेको उद्योगीको भनाइ छ ।

    आधा तौलका धेरै सिलिन्डर उपभोक्ताको घरमा थन्किएपछि भारतबाट आएका ग्यास बुलेट उद्योगमा अनलोड हुन नसकेको उद्योगीले बताउँदै आएका छन् । हाल ७.१ किलोका सिलिन्डर मात्रै बजार पठाउँदा र ग्यासका बुलेट समयमै अनलोड नगर्दा सबै बुलेट जाम भएर बसेका छन् ।

    व्यवसायीहरूले यसअघि नै सरकारसँग सम्बन्धित व्यक्तिहरूसँग पटक–पटक छलफल र अन्तर्क्रिया गरे पनि सरकारले कुनै सकारात्मक पहल नगरेको गुनासो गरेका छन् ।

    उनले सरकार निकट व्यक्तिहरूलाई डिजेलको मूल्य नबढाउन विभिन्न सुझाव दिए पनि चासो नदेखाएको आरोप लगाएका छन् । आफ्नो व्यावसायिक अस्तित्व जोगाउन र आपूर्ति व्यवस्था सहज बनाउन व्यवसायीहरूले आफैं यो निर्णय लिनुपरेको उनीहरूको तर्क छ ।

    अध्यक्ष अर्यालले दक्षिण एसियाली मुलुकहरू भारत, भुटान र माल्दिभ्सको उदाहरण दिँदै ती देशले आफ्नो आर्थिक अवस्था स्थिर राख्न डिजेलको मूल्य वृद्धि नगरेको बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ