• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    इस्लामाबादमा अमेरिका र इरानबिच वार्ता चलिरहेका बेला ट्रम्पले फेरि दिए धम्की

    459
    SHARES



    इस्लामाबाद । पाकिस्तानको राजधानी इस्लामाबादमा इरान र अमेरिकाका प्रतिनिधिमण्डलबिच शान्ति वार्ता सुरु भएको छ। पाकिस्तानी सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएअनुसार इस्लामाबादस्थित सेरेना होटलमा शनिबार दिउँसो ४ बजेदेखि वार्ता सुरु भएको हो।

    लामो समयदेखिको तनाव र द्वन्द्वलाई कम गर्ने उद्देश्यले सुरु भएको यो वार्तालाई अन्तर्राष्ट्रिय समुदायले निकै चासोका साथ हेरिरहेको छ। वार्ताका लागि इरानी प्रतिनिधिमण्डल शुक्रबार राति नै इस्लामाबाद पुगेको थियो भने अमेरिकी प्रतिनिधिमण्डल शनिबार बिहान त्यहाँ पुगेको हो।

    यो वार्ताको पहिलो चरण प्रत्यक्ष नभई मध्यस्थकर्तामार्फत भइरहेको छ। पाकिस्तानी अधिकारीहरूले दुई देशका प्रतिनिधिहरूबिच सन्देश आदानप्रदानको काम गरिरहेका छन्। सरकारी अधिकारीहरूले सुरुवातको कुराकानी सकारात्मक रहेमा र उपयुक्त वातावरण बनेमा अमेरिका र इरानका अधिकारीहरू एउटै टेबुलमा बसेर प्रत्यक्ष वार्ता गर्ने सम्भावना रहेको बताएका छन्। हाल दुवै पक्ष एउटै होटलमा रहे पनि उनीहरूबिच पाकिस्तानी कूटनीतिज्ञमार्फत मात्र संवाद भइरहेको छ।

    एकातिर वार्ता सुरु भइरहँदा अर्कोतिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यस द्वन्द्वमा इरान नराम्ररी पराजित भइरहेको दाबी गरेका छन्। आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लामो पोस्ट गर्दै ट्रम्पले मिडियाले इरानले जितिरहेको भनेर देखाउन खोजे पनि वास्तविकतामा इरानले निकै नराम्ररी हार बेहोरिरहेको दाबी गरे।

    उनले इरानको जलसेना र वायुसेना समाप्त भइसकेको, एन्टी-एयरक्राफ्ट सिस्टम र राडार नष्ट भएको तथा मिसाइल र ड्रोन कारखानाहरू पूर्ण रूपमा ध्वस्त भएको बताए। साथै उनले इरानका लामो समयदेखिका नेता अब नरहेको भन्दै अमेरिकाले विश्वभरका देशको भलाइका लागि स्ट्रेट अफ होर्मुजमा इरानले ओछ्याएका समुद्री बारुदी सुरुङ हटाउन थालेको पनि उल्लेख गरे।

    यसअघि अप्रिल ८ को बिहान ट्रम्पले ट्रुथ सोसलमार्फत नै पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ र फिल्ड मार्सल असिम मुनिरसँगको कुराकानीपछि आफूले इरानमाथिको बमबारी र आक्रमण दुई साताका लागि स्थगित गरेको घोषणा गरेका थिए।

    त्यसअघि ट्रम्पले इरानलाई स्ट्रेट अफ होर्मुज खोल्न दबाब दिँदै त्यसो नगरे इरानलाई ‘ढुंगे युगमा फर्काइदिने’ धम्की दिँदै आएका थिए। ट्रम्पको घोषणापछि पाकिस्तानी प्रधानमन्त्री सरिफले लेबनानसहित सबै ठाउँमा तत्काल लागू हुने गरी अमेरिका र इरान युद्धविराम गर्न सहमत भएको भन्दै खुसी व्यक्त गरेका थिए।

    युद्धविरामको घोषणासँगै पाकिस्तानी प्रधानमन्त्री सरिफले दुवै देशका नेतृत्वको प्रशंसा गर्दै बाँकी विवादको अन्तिम समाधान खोज्न अप्रिल १०, २०२६ शुक्रबारका दिन इस्लामाबाद आउन दुवै देशका वार्ता टोलीलाई निमन्त्रणा दिएका थिए। सोही निमन्त्रणास्वरूप अहिले इस्लामाबादमा वार्ताको माहोल बनेको हो।

    यद्यपि, वार्तामा बस्नुअघि इरानी प्रतिनिधिमण्डलले लेबनानमा पूर्ण युद्धविराम हुनुपर्ने र अमेरिकाले रोक्का राखेका इरानी सम्पत्तिहरू फुकुवा गरिनुपर्ने कडा सर्त अघि सारेको थियो। यी जटिल सर्त र आरोप-प्रत्यारोपका बिच सुरु भएको यो वार्ताले मध्यपूर्वको तनावलाई कुन दिशामा लैजान्छ भन्ने कुरा आउने दिनका गतिविधिले निर्धारण गर्नेछ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ