• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    चन्द्रमा परिक्रमा गरी फर्किए चार अन्तरिक्षयात्री, प्रशान्त महासागरमा सुरक्षित अवतरण

    419
    SHARES



    काठमाडौँ । नासाको महत्वाकांक्षी आर्टेमिस–२ मिशन अन्तर्गत चन्द्रमाको परिक्रमा गरेका चार अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वी फर्किएका छन्। उनीहरूलाई बोकेको ‘ओरायन’ अन्तरिक्षयान प्रशान्त महासागरमा सुरक्षित रूपमा अवतरण (स्प्ल्यासडाउन) भएको बिबिसीले जनाएको छ।

    नेपाली समयअनुसार आज बिहान करिब ५:४५ बजे समुद्रमा अवतरण गरेको हो। कमाण्डर रिड वाइजम्यानले सबै सदस्य पूर्ण रूपमा सुरक्षित रहेको पुष्टि गरेका छन्। ‘केही शानदार यात्रा रह्यो। हामी स्थिर अवस्थामा छौं र चारै जना सदस्य पूर्ण स्वस्थ छन्,’ उनले भने।

    यो मिशन नौ दिनभन्दा बढी समयसम्म चलेको थियो। यस अवधिमा अन्तरिक्ष यात्रीहरूले पृथ्वीबाट करिब ४ लाख ६ हजार ७७१ किलोमिटर टाढासम्म यात्रा गरे। जुन मानव इतिहासकै सबैभन्दा टाढाको दूरी हो। उनीहरूले चन्द्रमाको पछाडिबाट परिक्रमा गर्दै पूर्ण सूर्यग्रहणसमेत अवलोकन गरेका थिए।

    मिशनका क्रममा चन्द्रमाको पछाडि पुगेपछि करिब ४० मिनेटसम्म नासासँग सम्पर्क विच्छेद भएको थियो, जुन पूर्वानुमानअनुसार नै भएको थियो। पुनः सम्पर्क स्थापित भएपछि मिशन विशेषज्ञ क्रिस्टिना कोचले भनेकी थिइन्, ‘पृथ्वीबाट फेरि आवाज सुन्न पाउँदा अत्यन्तै राम्रो लाग्यो।’

    पाइलट विक्टर ग्लोभरले अन्तरिक्षबाट देखिएको दृश्यबारे प्रतिक्रिया दिँदै भने, ‘हामीले जे देख्यौं, त्यसलाई वर्णन गर्न शब्द नै छैन।’ कमाण्डर वाइजम्यानले पनि अहिलेसम्म कुनै मानवले नदेखेका दृश्य देखिएको बताएका थिए।

    नासाले यस अवतरणलाई टेक्स्टबुक ल्याण्डिङको संज्ञा दिएको छ। प्रारम्भिक स्वास्थ्य परीक्षणमा चारै जना अन्तरिक्ष यात्री पूर्ण रूपमा फिट रहेको पुष्टि गरिएको छ।

    को–को थिए मिशनमा?

    आर्टेमिस–२ टोलीमा तीन अमेरिकी र एक क्यानाडेली अन्तरिक्ष यात्री सहभागी थिए। कमाण्डर रिड वाइजम्यान, पाइलट भिक्टर ग्लोभर, मिसन विशेषज्ञ क्रिस्टिना कोच र जेरेमी हेन्सन थिए। हेन्सन क्यानडाका हुन्।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिक्ष यात्रीहरूलाई बधाई दिँदै व्हाइट हाउसमा आमन्त्रण गरेका छन्। ‘तपाईंहरूले इतिहास रच्नुभएको छ। अब हामी फेरि यस्तो गर्नेछौं, र अर्को लक्ष्य मंगल ग्रह हुनेछ,’ उनले ट्रुथ सोसियलमा लेखेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ