
काठमाडौं । पश्चिम एसियामा जारी अमेरिका–इजरायल र इरानबिचको युद्धका कारण विश्व बजारमा कच्चा तेलको आपूर्तिमा थप संकट देखिएपछि सोमबार तेलको मूल्यमा भारी वृद्धि भएको छ।
प्रमुख तेल उत्पादक क्षेत्रमा सिर्जित अवरोध र सम्भावित सैन्य आक्रमणका कारण सोमबार ब्रेन्ट क्रुड र वेस्ट टेक्सास इन्टरमिडिएट दुवैको मूल्य उकालो लागेको हो।
सोमबार बिहानको कारोबारमा ब्रेन्ट क्रुड फ्युचर्स १.७१ डलर अर्थात् १.६ प्रतिशतले बढेर प्रतिब्यारेल ११०.७४ डलर पुगेको छ। त्यस्तै, अमेरिकी कच्चा तेलको मूल्य ०.७१ डलरले बढेर प्रतिब्यारेल ११२.२५ डलरमा कारोबार भइरहेको छ।
इस्टर सन्डेका अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको पावर प्लान्ट र पुलहरूमा आक्रमण गर्ने धम्की दिएपछि बजारमा थप हलचल मच्चिएको हो। ट्रम्पले इरानले रणनीतिक महत्त्वको स्ट्रेट अफ होर्मुज नखोले मंगलबारबाट कडा सैन्य कारबाही गर्ने चेतावनी सामाजिक सञ्जालमार्फत दिएका छन्।
गत फेब्रुअरी २८ देखि सुरु भएको यो युद्धका कारण इराक, साउदी अरब, कतार, कुवेत र संयुक्त अरब इमिरेट्सबाट तेल ओसारपसार हुने स्ट्रेट अफ होर्मुज प्रायः बन्द अवस्थामा छ।
इरानी आक्रमणका कारण ढुवानीमा अवरोध भएपछि विश्वभरका रिफाइनरीहरूले अहिले अमेरिका र बेलायतको नर्थ सी क्षेत्रबाट वैकल्पिक तेलको खोजी गरिरहेका छन्। इरानले आफ्ना मित्र राष्ट्रका केही जहाजलाई मात्र सो क्षेत्रबाट जान अनुमति दिए पनि समग्र आपूर्ति प्रणाली भने अस्तव्यस्त छ।
यसैबिच, आइतबार बसेको ओपेक प्लस राष्ट्रहरूको बैठकले मे महिनाका लागि दैनिक २ लाख ६ हजार ब्यारेल तेल उत्पादन बढाउने सहमति गरेको छ। तर, युद्धका कारण धेरैजसो प्रमुख उत्पादक राष्ट्रहरूले उत्पादन बढाउन सक्ने स्थिति नरहेकाले यो निर्णय कागजमा मात्र सीमित हुने देखिएको छ।
अर्कोतर्फ, युक्रेनी ड्रोन आक्रमणका कारण अवरुद्ध भएको रुसी तेल टर्मिनल उस्त-लुगाले शनिबारबाट मात्र काम सुरु गरेको छ। युद्धविरामका लागि भइरहेका प्रयासहरू असफल भएको र इरानले अमेरिकासँग वार्ता गर्न अस्वीकार गरेकाले तेलको यो महँगी अझै केही समय लम्बिने संकेत देखिएको छ।
प्रतिक्रिया