
काठमाडौं । ‘सानुभाइ’ भनिने युवराज गुरुङ पक्राउ परेका छन् । गुण्डागर्दीको आरोपमा पहिले पनि पक्राउ पर्दै र छुट्दै आएका गुरुङलाई पक्राउ गरेको एसएसपी रमेश थापाले जानकारी दिए ।
गुरुङ पहिले पनि पक्राउ पर्ने र छुट्ने गर्दै आएका थिए । २०८० सालको असारमा ठमेलको क्लब ओम्नियाका सञ्चालकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका बेला गुरुङलाई प्रहरीले हत्कडीसहित ठमेल बजार क्षेत्रमा घुमाएको थियो । त्यतिबेला गुण्डागर्दीमा संलग्नलाई ‘सबक’ सिकाउन भन्दै प्रहरीहरुले हतकडीसहित बजार घुमाएका थिए ।
पछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अभद्र व्यवहारको कसुरमा उनलाई १० हजार रुपैयाँ धरौटीमा छाडेको थियो । लगत्तै फेरि कुटपिट र असुलीमा संलग्न भएको भन्दै उनी पक्राउ पर्ने र छुट्ने गरेका थिए ।
प्रहरीको रेकर्ड अनुसार, सानुभाइ कुनै समय गुण्डा नाइके कुमार घैंटेको समूहमा सक्रिय व्यक्ति हुन् । घैंटे प्रहरी मुठभेडमा ३ भदौ २०७२ मा मारिएपछि उनी ‘बुलेट प्रुफ ज्याकेट’ लगाएर हिँड्न थालेका थिए ।
उनलाई हत्कडीसहित ठमेल घुमाउने बेला काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्की थिए । अहिले उनी नेपाल प्रहरीको महानिरीक्षक छन् । प्रहरी अधिकारीहरुका अनुसार २५ पुस २०७२ मा सानुभाइ नुवाकोटबाट २८ बोर रिभल्बर र एउटा गोलीसहित पक्राउ परेका थिए । त्यसबेला उनले लगाएको बुलेट प्रुफ ज्याकेट पनि प्रहरीले बरामद गरेको थियो ।
उनका अनुसार, गुरुङ ७ कात्तिक २०६७ मा गोंगबुस्थित गणेशस्थान नजिकै मिलन लामालाई धारिलो हतियार प्रहार गरेको घटनामा पनि संलग्न थिए ।
२०७६ सालमा उनीविरुद्ध बैंकिङ कसूरमा प्रहरी वृत्त, दरबारमार्गबाट मुद्दा चलेको थियो भने २६ कात्तिक २०७७ मा ताज भन्ने भीम गुरुङलाई पेस्तोल देखाएर कुटपिट गरेको आरोपमा गुरुङ पक्राउ परेका थिए ।
२०८२ साउनमा उनी ठमेलको एक दोहोरी साँझमा झगडा गरेको आरोपमा पनि पक्राउ परेका थिए ।
प्रतिक्रिया