• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद समाचार

    ४ पटकको विश्वच्याम्पियन इटाली लगातार तेस्रो पटक विश्वकप बाहिर

    143
    SHARES



    रोम । चार पटकको विश्वकप विजेता इटाली बोस्निया-हर्जगोभिनासँग पेनाल्टी सुटआउटमा स्तब्ध हुँदै लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल भएको छ। यसअघि २०१८ को रुस र सन् २०२२ को कतार विश्वकपमा पुग्न नसकेको इटाली, लगातार तीन संस्करण गुमाउने विश्वकप इतिहासकै पहिलो पूर्वविजेता बनेको छ।

    प्रशिक्षक जेन्नारो गट्टुसोको टोली १० खेलाडीमा सीमित भएर पनि बोस्नियाको निरन्तर आक्रमणलाई रोक्दै खेललाई पेनाल्टीमा धकेल्न सफल भएको थियो। तर, पेनाल्टी सुटआउटमा पियो एस्पोसिटो र ब्रायन क्रिस्टान्टे गोल गर्न चुके।

    ४० वर्षीय कप्तान एडिन जेकोको नेतृत्वमा रहेको बोस्निया-हर्जगोभिना इतिहासमै दोस्रो पटक विश्वकपका लागि छनोट भएको छ र अब उनीहरूले यसै गर्मीयाममा हुने विश्वकपको समूह ‘बी’ मा क्यानडा, कतार र स्विट्जरल्याण्डको सामना गर्नेछन्।

    तर, चार पटकको च्याम्पियन टोली फेरि असफल हुँदा यो इटालियन फुटबलका लागि एक निकै दुःखद रात बन्न पुग्यो। इटालियन फुटबल महासंघका प्रमुख ग्याब्रिएल ग्राभिनाले आफूले प्रशिक्षकलाई पदमा रहिरहन आग्रह गरेको बताए पनि, भावुक बनेका प्रशिक्षक गट्टुसोले आफ्नो भविष्य ‘महत्त्वपूर्ण नभएको’ प्रतिक्रिया दिए।

    गट्टुसोले भने, ‘यसले दुख्छ, किनकि यो हामीलाई, सम्पूर्ण इटालीलाई र हाम्रो फुटबल अभियानलाई चाहिएको थियो। यो पचाउन गाह्रो हुने चोट हो। हाम्रो लक्ष्य हासिल गर्नका लागि म मेरो जीवनका वर्षौँ र पैसा माया मार्न तयार थिएँ।’ ग्राभिनाले आफूले राजीनामा नदिने अडान राखे पनि इटालियन फुटबल अहिले गहिरो सङ्कटमा पुगेको भने स्वीकार गरे।

    खेलको १५औँ मिनेटमा बोस्नियाका गोलकिपर निकोला भासिल्जको गलत पासको फाइदा उठाउँदै निकोलो बरेलाको मुभमा मोइज किनले पेनाल्टी क्षेत्रको छेउबाट उत्कृष्ट गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए।

    तर, पहिलो हाफ सकिन ५ मिनेट अगाडि गोलको सुन्दर अवसर बनाएर अघि बढेका बोस्नियाका विङ्गर अमार मेमिचलाई लडाएपछि इटालीका डिफेन्डर अलेसान्द्रो बास्टोनीले रातो कार्ड पाए, जसले घरेलु टोलीलाई खेलमा फर्कने आशा जगायो।

    इटालीका गोलकिपर जियानलुइजी डोनारुम्माले दोस्रो हाफमा उत्कृष्ट बचाउहरू गरे। तर ७९ औँ मिनेटमा अमार डेडिचको क्रसमा एडिन जेकोले गरेको हेडरलाई डोनारुम्माले रोके पनि रिबाउन्डमा आएको बललाई हारिस ताबाकोभिचले गोलमा परिणत गर्दै खेललाई अतिरिक्त समयमा धकेले।

    त्यसपछि पेनाल्टीमा घरेलु टोली बोस्नियाका बेन्जामिन ताहिरोभिच, ताबाकोभिच, केरिम अलाज्बेगोभिच र एस्मिर बाजरक्तारेभिच सबैले गोल गर्दै विश्वकपमा आफ्नो स्थान सुरक्षित गरे।

    ‘इटालियन बालबालिकाहरूले फेरि इटालीविनाको अर्को विश्वकप देख्नेछन्,’ आँसु झार्दै विङ्गर लियोनार्डो स्पिनाजोलाले भने, ‘म अझै विश्वास गर्न सकिरहेको छैन कि हामी १० जना खेलाडीमा सीमित भएर पनि यसरी बाहिरियौं। धैर्यताका साथ हामीले खेललाई पेनाल्टीसम्म पुर्‍यायौँ, हामीले तीन वा चार गोल गर्न सक्थ्यौँ। यो सबैका लागि ठुलो निराशा हो।’

    यसपटक उनीहरू किन छनोट हुन सकेनन् ?

    सन् २००६ मा चौथो पटक विश्वकप जितेयता, इटालीले अन्तर्राष्ट्रिय फुटबलको यस महाकुम्भमा निकै खराब प्रदर्शन गर्दै आएको छ। उनीहरू सन् २०१० र २०१४ को विश्वकपमा समूह चरणबाटै बाहिरिएका थिए।

    उनीहरूले युरो २०२० को फाइनलमा इंग्ल्याण्डलाई हराएका थिए, तर अन्तर्राष्ट्रिय मञ्चमा सङ्घर्ष गरिरहेको यो कुनै समयको महान् फुटबल राष्ट्रका लागि त्यो एउटा अपवाद मात्रै जस्तो देखिन्छ।

    सन् २००६ मा इटालीले विश्वकप जित्दा टोलीका सदस्य रहेका पूर्व मिडफिल्डर गट्टुसोले यस छनोट अभियानको दुई खेलपछि लुसियानो स्प्यालेटीको स्थान लिएका थिए।

    युरो २०२४ मा इटालीलाई अन्तिम-१६ बाटै बाहिरिनबाट जोगाउन नसकेका ६६ वर्षीय स्प्यालेटीलाई जुन महिनामा नर्वेसँग ३-० ले पराजित भएपछि बर्खास्त गरिएको थियो, यद्यपि त्यसको तीन दिनअघि माल्डोभाविरुद्धको जितमा उनी नै प्रशिक्षक थिए।

    यसले गट्टुसो र इटालीलाई सिधै छनोट हुने बाटो कठिन बनाइदिएको थियो। यो भूमिकाको लागि उनको योग्यतामाथि प्रश्न उठाइए पनि, उनले इस्टोनिया र इजरायलविरुद्ध दुई-दुई पटक र माल्डोभाविरुद्ध एक गरी लगातार ५ खेल जिताए। तर, नर्वेसँग ४-१ को हार अघि नै उनीहरू दोस्रो स्थानमा रहँदै प्ले-अफ खेल्न बाध्य भइसकेका थिए।

    इटालियन फुटबल किन सङ्घर्ष गरिरहेको छ ?

    सन् २००६ को फाइनलमा फ्रान्सलाई हराउँदा इटालीको त्यो टोली सम्भवतः देशको इतिहासकै सर्वोत्कृष्ट टोली थियो। त्यो सफलताको आधार एक दशक अघि नै तय भएको थियो, जब सेसारे माल्दिनीको यु-२१ टोलीले १९९२ देखि १९९६ को बिचमा लगातार तीनवटा युरोपियन च्याम्पियनसिप जितेको थियो।

    त्यतिबेला सिरी ‘ए’ मा एउटा नियम थियो जसले क्लबहरूलाई मैदानमा एकैपटक तीनभन्दा बढी गैर-युरोपेली खेलाडी खेलाउन रोक लगाएको थियो, जसले स्वदेशी प्रतिभालाई निखार्न मद्दत गर्थ्यो।

    तर १९९५ मा बोस्मान रुलिङ (युरोपेली खेलाडीहरूको अधिकार सुधार गर्न लडिएको मुद्दा) ले युरोपेली फुटबलको परिदृश्यलाई धेरै हदसम्म परिवर्तन गरिदियो।

    यसले गर्दा शताब्दीको अन्त्यतिर विदेशी खेलाडीहरू सिरी ‘ए’ मा ओइरिन थाले, जसले गर्दा युवा इटालियन खेलाडीहरूलाई आफ्नै देशका शीर्ष क्लबहरूको पहिलो रोजाइमा पर्न गाह्रो बनाइदियो।

    युरोपेली फुटबल विशेषज्ञ जुलियन लरेन्सले बीबीसी स्पोर्ट्सलाई भने, ‘इटालीका एकेडेमीहरूले पर्याप्त खेलाडीहरू उत्पादन गरिरहेका छैनन्, वा आफ्नो पहिलो टोलीमा खेल्न योग्य खेलाडीहरू निकालिरहेका छैनन्। उनीहरूले जसरी पैसा खर्च गर्छन्, त्यो इटालियन क्लबहरूले पहिले गर्ने शैलीभन्दा फरक छ।’

    आर्थिक समस्या र रंगशालाको अवस्था

    डेलोइटले सार्वजनिक गरेको विश्वकै सर्वाधिक आम्दानी गर्ने क्लबहरूको शीर्ष १० सूचीमा इटालीको कुनै पनि ठुलो क्लब पर्दैन। प्रिमियर लिग क्लबहरूले लगातार बढ्दो टिभी सम्झौताहरूबाट फाइदा लिइरहेका छन् र अन्य युरोपेली लिगहरूले पनि ठुलो लगानी भित्र्याइरहेका छन्।

    धेरै इटालियन क्लबहरूले आफ्ना रंगशालाहरूलाई आधुनिक बनाउन सकेका छैनन्, जसको असर व्यावसायिक आम्दानीमा परिरहेको छ। लिगका केही शीर्ष क्लबहरूले हालैका वर्षहरूमा ठुलो घाटा व्यहोरेको रिपोर्ट गरेका छन्, जसले भविष्यको लगानीमा असर पारेको छ।

    पूर्व इटालियन फरवार्ड डेल पिएरोले विश्वकप प्ले-अफ अघि सीबीएससँग भनेका थिए: ‘समस्या? रंगशालाहरू। हामीलाई थाहा छ कि सुधार गर्नका लागि मैदान बाहिर पनि राम्रो काम गर्नुपर्छ। युवा प्रणाली पनि सुधार्नु जरुरी छ।’

    अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो पुरानो साख फर्काउन इटालीले धेरै कुरा सच्याउनु पर्ने देखिन्छ।

    इटालियन फुटबल लेखक एम्मेट गेट्सले बीबीसी स्पोर्टलाई भने अनुसार विगतको दशकमा स्वीडेन र नर्थ म्यासेडोनियासँगको प्ले-अफ हारबाट ‘अज्जुरी’ पहिले नै घाइते थियो। अब उनीहरूले यो रातलाई पनि त्यो सूचीमा थप्न सक्छन्।’

    अप्रत्याशित रूपमा छनोट हुन नसक्ने टोलीहरू

    अन्य टोलीहरू पनि छन्, तर यहाँ फाइनलमा पुग्ने धेरै आशा गरिएर पनि विश्वकपमा छनोट हुन असफल भएका केही अन्य टोलीहरूको चर्चा गरिएको छ।

    अर्जेन्टिना (१९७०)

    अर्जेन्टिनाले यस विश्वकपको सुरुवात डिफेन्डिङ च्याम्पियनको रूपमा गर्दैछ र सधैँ लाग्छ कि यस्ता बलिया टोलीहरू सधैँ विश्वकपमा हुन्छन्। तर, सन् १९७० को मेक्सिको विश्वकपमा भने उनीहरू फाइनल पुग्न सकेका थिएनन्, जबकि त्यसको चार वर्षअघि उनीहरू क्वार्टरफाइनलसम्म पुगेका थिए।

    इंग्ल्याण्ड (१९७४)

    आफ्नो पहिलो र हालसम्मको एक मात्र विश्वकप जितेको आठ वर्षपछि इंग्ल्याण्ड १९७४ को विश्वकपका लागि छनोट हुन सकेन। छनोटको अन्तिम खेलमा पोल्याण्डविरुद्ध उनीहरूलाई जित आवश्यक थियो, तर पोल्याण्डका गोलकिपर जान टोमास्जेव्स्कीले उत्कृष्ट प्रदर्शन गर्दै खेल बराबरीमा रोके, जसले गर्दा थ्री लायन्सले पश्चिम जर्मनीमा भएको प्रतियोगितामा आफ्नो स्थान गुमाउन पुग्यो।

    नेदरल्यान्ड्स (१९८२)

    सन् १९७० को दशकमा महान् खेलाडी योहान क्रोएफको नेतृत्वमा रहेको डच टोली अन्तर्राष्ट्रिय फुटबलमा निकै बलियो शक्ति थियो र १९७४ तथा १९७८ मा विश्वकपको फाइनलसम्म पुगेको थियो। तर १९८२ को प्रतियोगिताको लागि छनोट चरणमा उनीहरू बेल्जियम र फ्रान्ससँगै कठिन समूहमा परे। उनीहरू दुवै टोलीका साथै रिपब्लिक अफ आयरल्याण्डसँग पनि पराजित भए र अघि बढ्न सकेनन्।

    इंग्ल्याण्ड (१९९४)

    पछिल्लो पटक अमेरिकामा विश्वकप हुँदा इंग्ल्याण्ड त्यसमा सहभागी थिएन। ३२ वर्षअघि त्यहाँ भएको प्रतियोगिताको लागि उनीहरू छनोट हुन सकेका थिएनन्। तत्कालीन प्रशिक्षक ग्राहम टेलरको नेतृत्वमा इंग्ल्याण्ड नेदरल्यान्ड्स, नर्वे, पोल्याण्ड, टर्की र सान मारिनोसँगै एउटै समूहमा थियो। छनोट हुने सम्भावना जीवित राख्न रोटरड्याममा नेदरल्यान्ड्ससँग हार टार्नुपर्ने थियो, तर डेभिड प्लाटमाथि व्यावसायिक फल गरे पनि रोनाल्ड कोम्यानले रातो कार्ड पाएनन् र डच टोलीले त्यो खेल २-० ले जित्यो।

    नेदरल्यान्ड्स (२०१८)

    हुन त अहिले इटालीले यो मामिलामा कडा टक्कर दिइरहेको छ, तर भाग लिनैपर्ने विश्वकपहरूमा छनोट हुन असफल हुने मास्टरको रूपमा नेदरल्यान्ड्सलाई लिन सकिन्छ। डच टोली १९८२, १९८६ र २००२ को विश्वकपमा पुग्न असफल भएको थियो। २०१८ को विश्वकप छनोट खेल्ने उनीहरूको टोली विगतका महान् डच टोलीहरू जस्तो नभए पनि उनीहरूसँग छनोट हुनका लागि पर्याप्त क्षमता भने पक्कै थियो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ