
काठमाडौं । सर्वोच्च अदालतले गैरकानुनी थुनामा परेको दाबी गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको हकमा एउटै बेहोराको ‘कारण देखाउ आदेश’ जारी गरेको छ ।
न्यायाधीश मेघराज पोखरेल र कुमार रेग्मीको छुट्टाछुट्टै इजलासले जारी गरेको कारण देखाउ आदेशले जोड दिएको विषय र माग गरेका फाइल मिल्दोजुल्दो छन् ।
आदेश अनुसार, सर्वोच्च अदालत प्रशासनले अब दुईवटै निवेदन एकसाथमा सुनुवाइ गर्नुपर्नेछ । न्यायाधीश मेघराज पोखरेलको इजलासले ओलीलाई जरुरी पुर्जी नै जारी गरेर पक्राउ गर्नुपर्ने अवस्था थियो कि थिएन भनी प्रश्न उठाएको हो ।
आदेशमा भनिएको छ, ‘निवेदकलाई जरूरी पक्राउपूर्जि जारी गर्नुपर्ने उल्लिखित दफाको पूर्वावस्था रहे/नरहेको के हो ? जवाफ आउने गरी लिखितजवाफ पेस गर्न लगाउनू ।’
न्यायाधीश पोखरेलले पूर्वगृहमन्त्रीको निवेदनमा अर्का न्यायाधीश कुमार रेग्मीले दिएको आदेशमा झैं कार्की आयोगको प्रतिवेदन पेश गर्नू र इजलासमा देखाएर लैजानू भनेका छन् ।
अनि उस्तै प्रकृतिको विषयवस्तुमा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेको र त्यो विरुद्धको निवेदन समेत रहेको भन्दै सर्वोच्च अदालतले दुवैलाई एकसाथ पेश गर्न आदेश दिएको हो ।
प्रतिक्रिया