
सुर्खेत । प्रहरीले बलात्कारपछि हत्या गरिएको भनिएकी १६ वर्षीया इनिशा विकको सामूहिक बलात्कार नभएको निष्कर्ष प्रहरीले निकालेको छ ।
सुर्खेत प्रहरीले सरकारी वकिल कार्यालयमा पेस गरेको प्रतिवेदनमा आफूलाई इनिशाका प्रेमी भन्ने १६ वर्षीय किशोरले जबरजस्ती करणी गर्दा संवेदनशील अङ्ग च्यातिएको र अत्यधिक रक्तश्राव हुँदा मृत्यु भएको बताइएको छ।
प्रहरीले उनी विरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यान सम्बन्धी मुद्दा कसुरमा जन्मकैदको मागसहित सिफारिस गरेको छ। अन्य तीन जनाको हकमा ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाउन माग प्रहरीले गरेको छ ।
मृतकको डिएनए रिपोर्ट, मोबाइल ट्याप सम्बन्धी फरेन्सिक रिपोर्ट र टक्सिकोलोजी सम्बन्धी रिपोर्ट आइ नपुग्दै प्रहरीले इनिशा सम्बन्धि आफ्नो अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो ।
एसपी शाहीका अनुसार उल्लेखित केही अनुसन्धानहरु नेपालमा गर्न सम्भव नभएकाले हुँदा नमूना विदेशमा पठाइएको र रिपोर्ट आउन बाँकी छ।
‘त्यो रिपोर्ट प्राप्त भएमा इनिशाको मृत्युको कारण स्पष्ट रुपमा भन्न सहज हुने छ,’ उनले भने। त्यो परीक्षणले शरीरमा कुनै विषालु पदार्थ वा औषधि प्रयोग भए नभएको स्पष्ट भन्न सहज हुन्छ।
ट्युसन पढ्न बिहानै निस्केकी इनिशा फागुन २३ गते बिहान वीरेन्द्रनगर नगरपालिका–१ स्थित सामुदायिक वनको पार्कमा मृत अवस्थामा फेला परेकी थिइन्। यसअघि पोष्टमर्टम रिपोर्टले बलात्कारपछि अत्यधिक रक्तश्रावका कारण इनिशाको मृत्यु हुन पुगेको उल्लेख गरेको थियो ।
घटना अनुसन्धान सिआइबीका साथै जिल्ला प्रहरीले छुट्टा छुट्टै गरी प्रतिवेदन तयार पारेका थिए। इनिशाको परिवारले भने प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाए पनि अझै चित्त बुझाएका छैनन्। उनीहरुले शव बुझ्न मानेका छैनन्। त्यसैले १९ दिनदेखि इनिशाको शव सुर्खेत कालो गाउँस्थित कर्णाली प्रादेशिक अस्पतालमै छ।
एसपी शाहीले भने मंगलबार जिल्ला प्रहरी कार्यालयमा इनिशाका बुवा, आमा, परिवारका सदस्य र आफन्तलाई राखेर प्रहरीको अनुसन्धान तयार पारेको प्रतिवेदनबारे सम्पूर्ण जानकारी दिइएको बताए।
यसअघि पनि प्रहरीले इनिशाको बलात्कारपछि हत्या प्रकरणमा सहपाठी एक जना किशोर मात्रै संलग्न रहेको अनुसन्धानबाट खुलेको बताएको थियो।
अन्य तीन किशोर बलात्कार पछि अत्यधिक रक्तश्राबका कारण इनिशा बेहोस भएपछि सहयोगका लागि मात्रै बोलाइएका साथीहरु भएको प्रहरी अधिकारीले बताएका थिए।
‘बलात्कारपछि अत्यधिक रक्तश्रावका कारण मृत्युको मुखमा पुगेकी इनिशा अचेत भएको अवस्थामा पुगेका तीन साथीहरुले उनालाई समयमै अस्पताल पुर्याउन भूमिका नखेलेको हुँदा उनीहरुलाई पनि ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाउन माग गरिएको हो,’ अर्का एक प्रहरी अधिकारीले भने ।
चारै जना १८ वर्षभन्दा कम उमेरका भएका कारण प्रहरीले कसैको पनि नाम सार्वजनिक गरेको छैन ।
इनिशामाथि भएको बलात्कार र हत्या घटनाको देशव्यापी विरोध पर्दशन भएको थियो। घटनाको निष्पक्ष छानविनको माग गर्दै दोषीलाई कारबाही गर्न माग जनप्रतिनिधिहरुले पनि उठाएका थिए ।
जिल्ला सरकारी वकिल कार्यालय सुर्खेतका प्रमुख कर्णबहादर महतले प्रहरीले बुझाएको प्रतिवेदन रुजु गर्ने क्रम जारी रहेको प्रतिक्रिया दिए। त्यो प्रतिवेदन अध्ययनपछि अदालतमा पठाएपछि कस्लाई कुन अभियोग माग दाबी गरिएको छ भन्ने कुरा पछि सार्वजनिक गर्ने उनले बताए।
साथै उनले प्रहरीको प्रतिवेदन अध्यनपछि चित्त नबुझे फिर्ता पठाउन सकिने जानकारी दिए।
प्रतिक्रिया