• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    इसराइलको हवाई प्रतिरक्षा प्रणालीलाई चक्मा दिँदै इरानले हान्यो मिसाइल, सयजना बढी घाइते

    343
    SHARES



    एजेन्सी । इसराइलको आकाश विश्वकै सुरक्षित मध्येमा पर्छ। आयरन डोम, डेविड्स स्लिङ र एरो प्रणालीजस्ता बहुस्तरीय हवाई प्रतिरक्षा प्रणालीले इसराइलमा ‘शत्रु’ ले प्रहार गर्ने हवाई हतियारहरू आकाशमै नष्ट गर्छ।

    यी प्रणालीले छोटो दूरीका रकेटदेखि लामो दूरीका ब्यालिस्टिक मिसाइलसम्मलाई तह–तहमा रोकेर नष्ट गर्न सक्ने क्षमता राख्छन्।

    पछिल्ला वर्षहरूमा प्यालेस्टाइनबाट हमास, लेबननबाट हिजबुल्लाह लगायतले इसराइलका सहरमा लक्ष्य गरी प्रहार गरेका अधिकांश ड्रोन तथा मिसाइलमध्ये ठूलो हिस्सा इसराइलले आकाशमै नष्ट गर्दै आएको छ।

    साइरन चेतावनी प्रणाली इसराइली सुरक्षा प्रणालीको अर्को महत्त्वपूर्ण भाग हो। इसराइलमा मिसाइल वा रकेट प्रहार भएको रडारले पत्ता लगाउनासाथ सम्बन्धित क्षेत्रमा साइरन बजाइन्छ।

    यसले सर्वसाधारणलाई तुरुन्त सुरक्षित स्थानमा जान संकेत गर्छ। इसराइलमा अधिकांश सहरमा बंकर वा सुरक्षित कोठा (सेफ रुम) उपलब्ध हुन्छन्। जहाँ मानिसहरू केही सेकेन्डदेखि एक मिनेटभित्र पुग्नुपर्ने हुन्छ।

    मोबाइल एप र सन्देश प्रणालीमार्फत पनि चेतावनी पठाइन्छ। यसले मानिसलाई कुन क्षेत्रमा खतरा छ भन्ने स्पष्ट जानकारी दिन्छ। मध्यपूर्वमा जारी युद्धबीच इसराइलको अत्यन्तै सुरक्षित मानिएको आकाश र उसको प्रतिरक्षा प्रणालीलाई शनिबार इरानी मिसाइल आक्रमणले चक्मा दिएको छ।

    दक्षिणी इसराइलका डिमोना र अराद क्षेत्रमा इरानले दुइटा मिसाइल खसालेको थियो। मिसाइल आक्रमणबाट एक सयभन्दा बढी मानिस घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। डिमोना इसराइलको गोप्य आणविक रियाक्टर नजिकैको क्षेत्र हो।

    इरानले मिसाइल प्रहार गर्दा त्यहाँका हवाई प्रतिरक्षा प्रणाली सक्रिय राखिएको भए पनि ‘इन्टरसेप्टर’ले कामै नगरेको इसराइली अधिकारीहरूलाई उद्धृत गरी अमेरिकी अनलाइन सिबिएस न्युजले लेखेको छ।

    त्यसकारण त्यहाँ दर्जनौं घरमा क्षति पुगेको छ। अरादमा भएको आक्रमणमा कम्तीमा ६४ जना घाइते भएका छन्। जसमा सात जनाको अवस्था गम्भीर रहेको आपतकालीन सेवा मगेन डेभिड एडमले जनाएको छ। डिमोनामा भएको आक्रमणमा थप ४० जना घाइते भएका छन्।

    त्यहाँ कम्तीमा १० वटा अपार्टमेन्ट भवनमा क्षति पुगेको बताइएको छ भने त्यसमध्ये तीनवटा भवन पूर्ण क्षतिग्रस्त छ। आपतकालीन सेवाबाट खटिएका उद्धारकर्ताहरूले धेरै समय लगाएर क्षतिग्रस्त भवन र भग्नावशेषबाट मानिसहरूलाई निकालेको भनेर रोयटर्सले लेखेको छ।

    इरानले मिसाइल खसालेको स्थानमा ‍इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू आइतबार अवलोकनका लागि गएका थिए। उनले ‘भाग्य’ले मानिसहरुको ज्यान जोगिएको बताएका छन्।

    ‘तर पछिल्लो ४८ घन्टाको अवधीमा इरानले विश्वलाई कति खतरामा पार्न सक्छ भन्ने प्रमाण दिएको छ। उनीहरूको उद्धेश्य सर्वसाधारणलाई मार्ने हो। भाग्यले कसैको ज्यान नगएको मात्रै हो,’ अवलोकन क्रममा नेतन्याहूले भने।

    यद्यपि इसराइलको सुरक्षा प्रणालीलाई लिएर प्रश्न उठ्न थालेको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    त्योसँगै इरानले प्रयोग गरेको मिसाइल प्रविधि पहिलेभन्दा उन्नत हुनसक्ने आकलन पनि गरिएको छ। जसमा उच्च गति, म्यानुभर गर्न सक्ने क्षमता र सम्भवतः बहु–वारहेड प्रयोग गरिएको हुन सक्छ।

    एकैपटक धेरै मिसाइल प्रहार गरेर इसराइलको प्रतिरक्षा प्रणालीलाई ‘ओभरलोड’ गर्ने रणनीति अपनाइएको हुनसक्ने अनुमान पनि गरिएको छ।

    सैन्य विश्लेषकहरूका अनुसार हालसम्म इरानले प्रहार गरेका ड्रोन र मिसाइलमध्ये करिब ८० देखि ९० प्रतिशतसम्म इसराइली प्रतिरक्षा प्रणालीले नष्ट गरेको अनुमान छ।

    विशेषगरी ड्रोन र कम दूरीका रकेटहरू आयरन डोमले सजिलै नष्ट गर्ने गरेको छ। तर उच्च गतिको, बहु–वारहेड भएको वा एकैपटक ठूलो संख्यामा प्रहार गरिएका मिसाइलहरू रोक्न चुनौतीपूर्ण हुने बताइन्छ।

    अघिल्लो मंगलबार इरानले आफ्नो राष्ट्रिय सुरक्षा परिषद् प्रमुख अली लारिजानीको हत्याको बदलामा इसराइलको राजधानी तेल अविभमा लक्ष्य गरी क्लस्टर वारहेड सहितको मिसाइल हानेको थियो।

    क्लस्टर वारहेड आकाशमै फुटेर धेरै ठाउँमा फैलिने भएकाले यसलाई रोक्न इसराइलको ‘इन्टरसेप्टर’लाई पनि कठिन हुन्छ। एउटा हतियार तेल अविभको रमत गानमा खस्दा वृद्ध दम्पत्तीको मृत्यु भएको थियो भने घर र सडकमा पनि क्षति पुगेको थियो।

    शनिबार मात्रै इरानले हिन्द महासागरको डिएगो गार्सियास्थित अमेरिका-बेलायतको सैन्य अड्डालाई निशाना बनाएर ब्यालिस्टिक मिसाइल प्रहार गरेको हो। यो सैन्य अड्डा तेहरानबाट ४ हजार किलोमिटरको दूरीमा रहेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।

    इरानले तीन साताको युद्धमा पहिलो पटक यति लामो दूरीमा प्रहार गरेको हो। यसबाट इरानले युरोपेली मुलुकहरूमा पनि आक्रमण गर्न सक्ने क्षमता विकास गरेको भनेर रोयटर्सले लेखेको छ।

    डिमोनामा गरिएको आक्रमणलाई इरानले नतान्जस्थित आणविक भट्टीमा इसराइलले गरेको हमलाको बदला भनेको छ। आफ्नो आणविक केन्द्रमा हमलाको बदलामा इसराइलको आणविक अनुसन्धान केन्द्रलाई लक्ष्य गरी प्रहार गरेको उसले बताएको छ।

    यद्यपि इसराइलले नतान्जमा आक्रमण गरिएको अस्वीकार गरेको छ। तनान्ज त्यही आणविक भट्टी हो जसमा अमेरिकाले अघिल्लो वर्षको जुलाईमा शक्तिशाली बम खसालेको थियो। अमेरिकाले त्यतिबेलै नतान्जसहित फर्दो र इस्फहान परमाणु भट्टी कामै नलाग्ने गरी ध्वस्त पारिएको दाबी गरेको थियो।

    तर पछिल्लो समय ती भट्टीहरुमा इरानले पुनः परमाणु कार्यक्रम सञ्चालन गरिरहेको भन्ने सार्वजनिक भएको थियो। इरानले परमाणु कार्यक्रम रोक्न नमानेपछि फेब्रुअरी २८ देखि अमेरिकाले इसराइलसँग मिलेर पुनः आक्रमण थालेको थियो।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई २/३ दिनमै घुँडा टेकाउने दाबी गरे पनि युद्ध चौथो हप्तामा प्रवेश गरेको छ। इरानले विश्व बजारमा आपूर्ति हुने २० प्रतिशतभन्दा बढी पेट्रोलियम पदार्थ ढुवानी हुने साँघुरो समुद्री मार्ग स्ट्रेट अफ हर्मुज करिब बन्द गरेको छ।

    ट्रम्पले हर्मुज पूर्ण रूपमा खुलाउन इरानलाई शनिबार ४८ घन्टाको अल्टिमेटम दिएका थिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ