काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्यमीका उत्पादनको बजारीकरण गर्ने उद्देश्यले सञ्चालन गर्दै आएको ग्लोबल हाटबजारले ५०औँ हप्ता पूरा गरेको छ ।
बैंकले उद्यमीले उत्पादन गरेका वस्तुहरूलाई बजारसम्म सहज पहुँच दिलाउने उद्देश्यले सन् २०२४ नोभेम्बर ६ देखि ग्लोबल हाटबजार सञ्चालनमा ल्याएको हो । हाटबजार ५०औँ हप्ता पूरा गरेको अवसरमा बैंकले शुक्रबार विशेष मेला आयोजना गरेको छ ।
‘उद्यमीको उत्पादन, ग्लोबल आइएमईको प्रोत्साहन’ भन्ने नारासहित काठमाडौँको कमलादीस्थित बैंकको शाखा कार्यालयमा हरेक शुक्रबार हाटबजार सञ्चालन हुँदै आएको छ । यसमार्फत लघु, साना तथा मझौला उद्यमीका उत्पादनलाई प्रत्यक्ष रूपमा उपभोक्तासम्म पु-याउने लक्ष्य लिइएको छ ।
५०औँ हप्ताको अवसरमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले साना तथा मझौला उद्यमीहरूले भोग्दै आएको बजारीकरणको समस्यालाई सम्बोधन गर्न ग्लोबल हाटबजार प्रभावकारी माध्यम बनेको बताए । उनका अनुसार यस हाटबजारमार्फत खाद्य उत्पादनकर्ता, किसान, हस्तकला उत्पादक तथा दिगो साना–मझौला उद्यमीहरूले आफ्ना उत्पादन प्रदर्शन तथा बिक्री गर्न सहज वातावरण पाएका छन् ।
सीईओ रेग्मीले हाटबजारले दिगो तथा हरित अर्थतन्त्र निर्माणमा योगदान पु¥याइरहेका उद्यमहरूको बजार पहुँच विस्तार गर्न, कृषक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापना गर्न र कृषकलाई उत्पादनको उचित मूल्य दिलाउन सहयोग गरेको उल्लेख गरे ।
उनले अर्गानिक, रैथाने तथा स्थानीय उत्पादनको प्रवद्र्धनमा ग्लोबल हाटबजारले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै नेपाली उत्पादकलाई हौसला प्रदान गरेको बताए । “सिम्बोलिक अभियानका रूपमा सुरु गरिएको हाटबजार उद्यमी र उपभोक्ताको विश्वासका कारण ५०औँ हप्तासम्म आइपुगेको छ र भविष्यमा अझ विस्तार गर्दै निरन्तर सञ्चालन गरिनेछ,” उनले भने ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई समेत बुझेर केवल कर्जा प्रवाहमा मात्र केन्द्रित नभई, उद्यमीहरुको चौतर्फी विकास र व्यावसायिक सीप विकासमा पनि विभिन्न कार्यहरु गर्दै आएको उनले जानकारी दिए।
ग्लोबल आईएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ। बैंकले बैंक अफ द इयर २०१४, बेस्ट इन्टरनेट बैंक २०१६, बेस्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४, बेस्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ।
ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकका ३५२ शाखा कार्यालय, ३८४ एटीएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ।
बैंकले रेमिट्यान्स सेवामार्फत नेपाली नागरिकहरूलाई विश्वभरबाट आर्थिक सेवा उपलब्ध गराउँदै आएको छ। अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनजस्ता देशहरूबाट बैंकले रेमिट्यान्स सेवा संचालन गर्दै नेपालमा आर्थिक समृद्धिमा योगदान पु¥याउँदै आएको छ।
प्रतिक्रिया