• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    कालिकोटमा महेन्द्र शाहीको चौथो जीत, १८ वर्षपछि ‘ब्यालेट’मा फर्किएका प्रकाण्डको लज्जास्पद हार

    1.7K
    SHARES



    काठमाडौँ । कालिकोटमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का महेन्द्रबहादुर शाही विजयी भएका छन् । उनी ११ हजार ३३८ मतसहित निर्वाचित भएको कालिकोटका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद दाहालले बताए ।

    कालिकोटबाट शाहीको यो चौथो जीत हो । त्यस्तै उनका निकटम प्रतिद्वन्द्वी बनेका नगिन्द्रले १० हजार ३ सय ५२ मत ल्याए । त्यस्तै नेपाली कांग्रेसका हर्षबहादुर शाहीले ७ हजार १३३ मत पाए ।

    १८ वर्षपछि ‘ब्यालेट’मा फर्किएका प्रकाण्डको लज्जास्पद हार

    यो चुनावमा विप्लव नेतृत्वको माओवादी पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को भने लज्जास्पद हार भएको छ । चुनाव अघिदेखि नै प्रकाण्डको एउटा भिडियो सामाजिक सञ्जालमा चर्चामा छ— ‘सबै संसदवादी दलहरू एक भए पनि र प्रचण्ड नै कालिकोटमा चुनाव लड्न आए पनि म चुनाव जित्छु ।’

    चुनाव हुनुभन्दा अगाडि नै सार्वजनिक उक्त भिडियोमा उनी ‘कन्फिडेन्ट’का साथ कालिकोटमा चुनाव जित्ने दावी गरिरहेका थिए । उनी सोही अनुसार, १८ वर्षपछि ‘ब्यालेट’ मा फर्किए । गुलाफको फुल चुनाव चिन्ह लिएर बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनमा भाग लिएका प्रकाण्डले निर्वाचन अवधिभर जबरजस्त माहौल पनि तताउन कोसिस गरे ।

    यद्यपि शुक्रबार सम्पन्न मतगणनाको अन्तिम नतिजा आउँदा उनको लज्जास्पद हार भएको छ । उनी पहिलोको प्रतिस्पर्धामा जित्ने त परको कुरा दोस्रो, तेस्रो नम्बरमा पनि आएनन्, चौथो नम्बरमा पुगे । सुरुमा कालिकोटमा प्रकाण्ड र महेन्द्रबिच चुनावी प्रतिस्पर्धा हुने आकलन गरिएको थियो ।

    दलित समुदायको बाहुल्यता धेरै भएको र जिल्लामा राम्रो प्रभाव भएकाले उनले साबिक माओवादी (हाल नेकपा) कै भोट धेरै काट्ने अनुमान गरिएको थियो । उनको चुनाव प्रचारप्रसार शैली पनि त्यस्तै थियो । उनका कार्यकर्ताले जातीय कुरालाई नै जोड दिएर प्रकाण्डलाई भोट मागिरहेका थिए ।

    कतिपयले त प्रकाण्डले नै चुनाव जित्न सक्ने आकलन पनि नगरेका होइनन् । उनले महेन्द्रलाई प्रतिस्पर्धी नै नमाने जसरी चुनावी कार्यक्रममा टिप्पणी गर्थे । तर अन्तिम चुनावी परिणाममा प्रकाण्ड प्रतिस्पर्धामै आउन सकेनन् । उनी ०६४ सालको भएको पहिलो संविधानसभा चुनावमा नेकपा (माओवादी) बाट निर्वाचन लडेका थिए । उक्त चुनावमा २७ हजार बढी मत ल्याएर जितेका उनी केन्द्रमा महिला तथा बालबालिका मन्त्री हुँदै पर्यटनमन्त्रीसम्म बने ।

    सांसदको कार्यकाल नसकिँदै (०६९) माओवादी अध्यक्ष ‘प्रचण्ड’ सँग असन्तुष्टि जनाएर प्रकाण्डले विप्लवसँगै पार्टी छाडे । पुनः विद्रोहको बाटो समातेका प्रकाण्ड र उनको पार्टीले यसअघिका चुनाव बहिस्कार गर्दै आएका थिए । एकीकृत जनक्रान्तिको नारा समातेर क्रान्ति गर्छु भन्दै हिडेका विप्लव-प्रकाण्डलाई विश्वास गरेर कार्यकर्ताहरु मर्न तयार भएका समेत थिए ।

    उसो त विप्लवको जनक्रान्तिका क्रममा १२ जनाले ज्यान नै गुमाएका छन् । तर पछिल्लो समय संसदीय राजनीतिको विकल्प नभएको भन्दै कहिले एमाले त कहिल्व प्रचण्ड माओवादीसंग एकताका लागि उनीहरु बार्गेनिङ गर्दै आएका थिए, तर कसैले पत्याएनन् ।

    पछिल्लो समय कृषि क्रान्तिमा अग्रसर भएका उनी र उनको पार्टी १८ वर्षपछि ‘ब्यालेट’ मा फर्कियो । तर प्रकाण्ड, विप्लवहरूलाई चुनाव खासै फापेन । विप्लवले अन्तिम समयमा आएर चुनावी मैदान छाडे । प्रकाण्डले फेस गरे, तर लज्जास्पद हार बेहोरे । चौथो बनेका प्रकाण्डले जम्मा ४ हजार ५९९ मत पाए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ