• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    कतारका समकक्षीसँग प्रधानमन्त्रीकाे टेलिफोन वार्ता, नेपालीहरूकाे सुरक्षाबारे चासाे

    409
    SHARES



    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गरेकी छन् ।

    प्रधानमन्त्री कार्कीले बिहीबार दिउँसो कतारका समकक्षी अल–थानीलाई टेलिफोन गरी पश्चिम एसिया क्षेत्रमा पछिल्ला दिनमा विकसित पछिल्ला घटनाक्रमप्रति चिन्ता व्यक्त गरिन् ।

    प्रधानमन्त्री कार्कीले कतारमा रहेका ३ लाख ६० हजार नेपाली नागरिक सुरक्षा तथा संरक्षण उपलब्ध गराएकोमा नेपाल सरकार र नेपाली जनताको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गरिन् ।

    उनले भनिन्, “हाल करिब ३ लाख ६० हजार नेपाली नागरिकहरू कतार राज्यमा बसोबास गर्दै काम गरिरहेका छन् । उनीहरू सुरक्षित छन् र राम्रोसँग हेरचाह गरिएको छ भन्ने कुरा सुन्दा मलाई अत्यन्त खुसी लागेको छ। हाम्रो जनताको हेरचाह गर्नुभएकोमा हामी तपाईँ तथा तपाईंको सरकारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ।”

    प्रधानमन्त्री कार्कीले पश्चिम एसिया क्षेत्रमा विकसित घटनाक्रमलाई नेपालले नजिकबाट नियालिरहेको बताउँदै सम्बद्ध सबै पक्षलाई संयमित रहन, द्वन्द्वलाई थप नचर्काउन र नागरिकको सुरक्षाको प्रत्याभूति हुनुपर्ने नेपालको धारणा रहेको बताइन् ।

    उनले नेपालले सबै राष्ट्रले संयुक्त राष्ट्र सङ्घको बडापत्र, अन्तर्राष्ट्रिय कानुन, जेनेभा अभिसन्धिहरु र मानवीय कानुनको उचित सम्मान र पालना गर्नुपर्ने कुरामा जोड दिइएको बताइन् ।

    कुनै पनि बहानामा युद्ध शान्तिको विकल्प हुन नसक्ने बताउँदै प्रधानमन्त्री कार्कीले वार्ता र कूटनीतिको माध्यमबाट मात्र दीर्घकालीन शान्ति सुनिश्चित हुने बताइन् ।

    कतारका प्रधानमन्त्री अल–थानीले नेपाल र कतारबिचको सुमधुर, प्रगाढ र मित्रवत् सम्बन्धको उच्च प्रशंसा गरे । उनले कतारमा रहेका नेपाली नागरिकहरूले ठुलो योगदान गरेको चर्चा गर्दै उनीहरूलाई सरकारले वर्तमान परिस्थितिमा कतारी नागरिकसरह सुरक्षा र संरक्षण दिने बताए ।

    उनले वर्तमान परिस्थितिलाई दुर्भाग्यपूर्ण भन्दै आफ्नो मुलुकले सार्वभौमिकता र भूमिको सुरक्षाका लागि वा आत्मसुरक्षाका लागि मात्र प्रयास गरिरहेको जानकारी दिए । कतार सधैँ शान्तिको च्याम्पियन रहेकोले यस किसिमका क्रियाकलापको विरोधी रहेको बताए । यस कठिन घडीमा नेपालले प्रदर्शन गरेको मित्रता र ऐक्यबद्धताको लागि उनले धन्यवाद पनि दिए ।

    यो परिस्थिति चाँडै अन्त्य हुने अपेक्षा गर्दै उनले पूर्ववत् रूपमा दुई मुलुकबिचको सम्बन्धलाई थप सुदृढ र विस्तारित बनाउन लाग्नुपर्नेमा जोड पनि दिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ