• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    मध्यपूर्वमा रहेका १७ लाख बढी नेपालीको सुरक्षा उच्च प्राथमिकतामा : परराष्ट्र मन्त्रालय

    324
    SHARES



    काठमाडौं । मध्यपूर्वी देशहरूमा विकसित पछिल्लो घटनाक्रमपछि नेपाल सरकारले त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ ।

    परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गर्दै त्यहाँ रहेका नेपालीको सुरक्षा उच्च प्राथमिकतामा राखिएको बताउँदै त्यसका लागि विभिन्न कूटनीतिक तथा प्रशासनिक पहल सुरु गरेको जनाएको हो ।

    परराष्ट्र मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका सहसचिव रामकाजी खड्काले प्रभावित क्षेत्रका लागि ट्राभल एडभाइजरी जारी गरिएको बताए । सम्बन्धित देशहरूमा रहेका नेपाली दूतावास तथा नियोगहरूले पनि सूचना र सतर्कता सन्देश सार्वजनिक गरिसकेको बताए । मन्त्रालयले विभिन्न देशहरूले जारी गरिरहेका आधिकारिक वक्तव्य र समग्र सुरक्षा अवस्थालाई निरन्तर निगरानी गरिरहेको जनाएको छ ।

    मध्यपूर्वमा करिब १७ लाख २९ हजार नेपाली

    सहसचिव खड्काका अनुसार मध्यपूर्वका विभिन्न मुलुकमा हाल करिब १७ लाख २९ हजार २८८ नेपाली नागरिक रहेका छन् । जसमा इरानमा १० जना नेपाली रहेका छन् । ती ४ जना नेपाल फर्किसकेका छन् भने ६ जना इरानमै छन् ।

    त्यस्तै इजरायलमा करिब ६ हजार ५ सय, इजिप्टमा ५ सय, ओमनमा २५ हजार, कतारमा ३ लाख ५७ हजार ९१३, कुवेतमा १ लाख ७५ हजार, बहराइनमा २८ हजार, साउदी अरबमा ३ लाख ८४ हजार ८६५, संयुक्त अरब इमिरेट्मा करिब ७ लाख लेबनानमा १ हजार ५ सय, इराकमा ३० हजार र साइप्रसमा १७ हजार नेपाली कार्यरत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले संकट व्यवस्थापनका लागि मध्यपूर्वस्थित नेपाली राजदूत तथा नियोग प्रमुखहरूलाई समेटेर ह्वाट्सएप ग्रुप बनाएको छ । उक्त ग्रुपमार्फत प्रत्येक देशको ताजा सुरक्षा अवस्था, सरकारी निर्णय, सम्भावित जोखिम तथा नेपाली नागरिकले भोगिरहेका समस्या सम्बन्धी अद्यावधिक जानकारी आदान–प्रदान भइरहेको सहसचिव खड्काले बताए ।

    सम्भावित उद्धारको तयारीस्वरूप मन्त्रालयले कन्सुलर सेवा विभागलाई अनलाइन रजिस्ट्रेसन प्लेटफर्म विकास गर्न निर्देशन दिएको छ । उक्त प्लेटफर्ममार्फत मध्यपूर्वमा रहेका नेपाली नागरिकले आफ्नो विवरण दर्ता गर्न सक्नेछन् ।

    त्यस्तै, विभागले मोबाइल एप पनि विकास गरिरहेको छ, जुन छिट्टै मन्त्रालय तथा सम्बन्धित दूतावासहरूको वेबसाइटमार्फत सार्वजनिक गरिनेछ । यसले आकस्मिक अवस्थामा नागरिकको अवस्थाबारे छिटो जानकारी संकलन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

    कन्सुलर पहुँच सुदृढ गर्न २४ सै घण्टा सञ्चालन हुने कन्सुलर रेस्पोन्स हटलाइनको व्यवस्था गर्न पनि मन्त्रालयले तयारी अघि बढाएको जनाएको छ ।

    त्यस्तै मुख्य सचिवको संयोजकत्वमा बसेको बहु सरोकारवाला मूल्यांकन बैठकको निर्देशनअनुसार परराष्ट्र सचिवको संयोजकत्वमा बहु–सरोकारवाला आपतकालीन उद्धार टोली (मल्टि–स्टेकहोल्डर इमर्जेन्सी रेस्क्यु टिम) गठन प्रक्रिया सुरु भएको छ । उक्त टोलीमा सम्बन्धित मन्त्रालय, सुरक्षा निकाय तथा अन्य सरोकारवाला संस्थाका प्रतिनिधि रहनेछन् ।

    चार प्रकारका ‘स्ट्यान्डेड’ नेपाली

    मन्त्रालयका अनुसार हाल चार प्रकारले नेपाली नागरिक समस्यामा परेको देखिएको छ । जसमा भिसा र टिकट भइसकेर पनि उडान रोकिने अवस्था, गन्तव्य देशमा पुगेर एयरपोर्टबाट बाहिर निस्कन कठिनाइ, ट्रान्जिटमा अलपत्र परेका यात्रु, विशेषत: युरोप–अमेरिका जाने क्रममा, गन्तव्य देश पुगे पनि रोजगारदातासम्म पुग्न नसकेका श्रमिक रहेका छन् ।

    यसका लागि सम्बन्धित निकाय र वैदेशिक रोजगार व्यवसायीमार्फत समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले जारी गरेको ट्राभल एडभाइजरीको भावनाअनुसार हालको गम्भीर परिस्थितिमा नयाँ लेबर पर्मिट जारी गर्ने वा नगर्ने, उडान केही समयका लागि स्थगित गर्ने तथा अध्ययनका लागि एनओसी जारी गर्ने विषयमा पनि आन्तरिक छलफल भइरहेको सहसचिव खड्काले जानकारी दिए । आवश्यक परे केही समयका लागि नयाँ प्रस्थान रोकिन सक्ने संकेत उनले गरे ।

    उद्धार तथा व्यवस्थापनका लागि नेपाल सरकारले अन्तर्राष्ट्रिय संस्थासँग पनि समन्वय गर्ने तयारी गरेको छ । विशेषगरी अन्तर्राष्ट्रिय श्रम संगठनसँग सँग आवश्यक समन्वय गरिने मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार द्वन्द्वको अवस्था कति समयसम्म गम्भीर रहनेछ भन्ने आकलन गर्दै, सम्बन्धित देश र छिमेकी मुलुकहरूले लिने कदमका आधारमा नेपालले आफ्नो उद्धार रणनीति तय गर्नेछ ।

    ‘मध्यपूर्वमा रहेका नेपाली नागरिकहरूको सुरक्षा नै अहिले सरकारको उच्च प्राथमिकता हो,’ सहसचिव खड्काले भने, ‘परिस्थितिको निरन्तर मूल्यांकन गर्दै आवश्यक परे उद्धारसम्मका सबै विकल्प खुला राखेर अघि बढ्नेछौं ।’

    मन्त्रालयले सबै नेपालीलाई सतर्क रहन, आधिकारिक सूचना मात्र विश्वास गर्न र आवश्यक परे सम्बन्धित दूतावास वा कन्सुलर सेवा विभागसँग सम्पर्क गर्न अनुरोध गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ