• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    अमेरिका र इजरायली हमलामा इरानभर २०१ जनाको मृत्यु, ७४७ घाइते

    479
    SHARES



    काठमाडौं । अमेरिका र इजरायलले संयुक्त गरेको आक्रमणबाट इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीसहित कम्तीमा २०१ जनाको मृत्यु र ७४७ जना घाइते भएको तथ्यांक छ ।

    आक्रमणबाट दक्षिणी इरानको एक विद्यालयमा मात्रै कम्तीमा १०८ जनाको मृत्यु भएको स्थानीय सरकारी अधिकारीले बताएका छन् ।

    राष्ट्रपति मोसुद पेजेस्कियानले विद्यालयमा भएको आक्रमणलाई ‘जंगली कार्य’ र ‘आक्रमणकारीहरूले गरेका असंख्य अपराधहरूको इतिहासमा अर्को कालो पाना’ भनेर टिप्पणी गरेका छन् ।

    इजरायल र अमेरिकाबाट भने विद्यालयमा आक्रमण भएको विषय पुष्टि भएको छैन । उक्त विद्यालय इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर (आईआरजीसी) को क्याम्पबाट करिब ६०० मिटर नजिकै पर्दछ । आईआरजीसी क्याम्प इजरायल र अमेरिकाको आक्रमणको निशाना बनेको थियो ।

    एक अधिकारीका अनुसार होर्मोजगान प्रान्तको मिनाब सहरस्थित उक्त विद्यालयमाथि तीनवटा मिसाइल खसेका थिए । जेनेभामा रहेका रेडक्रस र रेड क्रिसेन्टका अधिकारीहरूले घटनापछि विद्यालयतर्फ उद्धार टोली परिचालन गरिएको बताएका छन् ।

    बीबीसीले विस्फोटपछिको अवस्थासम्बन्धी केही भिडियो क्लिपहरू प्रमाणीकरण गरेको जनाएको छ, जसमा एक भवनबाट धुवाँ उडिरहेको, वरिपरि मानिसहरूको भीड लागेको र चिच्याइरहेको सुनिन्छ ।

    तर मृतकको संख्या स्वतन्त्र रूपमा पुष्टि गर्न भने नसकेको बीबीसीले जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई प्राय: इरानमा भिसा नदिइने भएकाले त्यहाँ तथ्य संकलन गर्न कठिन हुने गर्दछ । घटनापछि इरानी सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आक्रोश व्यक्त गरेका छन् ।

    विदेशमा बस्ने र इरानमाथि सैनिक हस्तक्षेपको विरोध गर्ने एक इरानीले लेखेका छन्, ‘यस युद्धका पहिलो पीडित मिनाबका ४० बालिकाहरू हुन्, जो मिसाइल आक्रमणमा परे । के तपाईंहरूले समर्थन गरेको युद्ध यही हो ?’

    तर इरानी शासनप्रति गहिरो अविश्वास रहेकाले धेरैलाई सरकारी विवरण स्वीकार गर्न गाह्रो भएको छ, र केहीले सीधै शासनलाई नै दोष दिएका छन् ।

    एक प्रयोगकर्ताले लेखेका छन्, ‘यदि शासनले विद्यालयलाई प्रत्यक्ष रूपमा निशाना नबनाएको भए पनि, मिनाबमा बालबालिकाको मृत्युको जिम्मेवारी इस्लामिक गणतन्त्रकै हो ।’

    ‘जनतासँग आश्रयस्थल छैन, इन्टरनेट काटिएको छ, फोन सेवा बन्द छ र बालबालिकालाई विद्यालय नजान चेतावनीसमेत दिइएको छैन । यस्तो अवस्थामा घरमै बस्नुपर्थ्यो,’ उनले लेखेका छन् ।

    यो विद्यालयको त्रासदी अमेरिका र इजरायलले शनिबारभर इरानका विभिन्न सहरमा लगातार हवाई आक्रमण गरिरहेका बेला भएको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ