एजेन्सी । बेलायतका पूर्व राजदूत पिटर म्यान्डेलसन पक्राउ परेका छन्। जेफ्री एपस्टिनसँग सम्बन्धित फाइलहरूमा उनको नाम पनि मुछिएपछि सोधपुछका लागि पूर्वराजदूत म्यान्डेलसनलाई सोमबार पक्राउ गरिएको हो।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार म्यान्डेलसन एपस्टिनबीच भएको संवादहरू सरकारले प्रहरीलाई उपलब्ध गराएको थियो। सोही अनुसार अनुसन्धानका लागि ७२ वर्षीय म्यान्डेलसनलाई सोमबार बिहान उनकै घरबाट पक्राउ गरिएको हो।
त्यतिबेला सादा पोसाकमा प्रहरीहरू क्याम्डेनस्थित म्यान्डेलसनको घर पुगेका थिए। प्रहरीहरूले नै उनलाई निवासबाट बाहिर ल्याएर गाडीमा हालेर प्रहरी कार्यालय लगेका थिए।
प्रहरीले दिनभरि सोधपुछपछि उनलाई अनुसन्धान जारी रहने सर्तमा जमानतमा रिहा गरेको छ। उनीमाथि सार्वजनिक पदमा रहँदा दुराचार गरेको आरोप छ। यसअघि एपस्टिन प्रकरणमै राजा चार्ल्सका भाइ एन्ड्रयू माउन्टब्याटन-विन्डसर पक्राउ परेका थिए।
उनलाई पनि सोधपुछपछि प्रहरीले छाडेको थियो। प्रहरीले पक्राउ पर्नु दोषी ठहर हुनु नभएको बताउँदै आएको छ। नाम जोडिएका सबैसँग सोधपुछ अनुसन्धान जारी रहेको पनि प्रहरीले बताएको छ।
यसै महिनामा म्यान्डेलसनले स्टार्मरको लेबर पार्टीबाट राजीनामा दिएका थिए भने संसदको उच्च सदनबाट पनि अलग भएका थिए। उनले यसअघि एपस्टिनसँगको सम्बन्धप्रति “गहिरो पश्चाताप” व्यक्त गरेका थिए तर पछिल्ला खुलासाबारे सार्वजनिक टिप्पणी गरेका छैनन्।
प्रहरीले यसअघि लन्डन र पश्चिम इंग्ल्यान्डस्थित उनका दुई निवासमा समेत तलासी लिएको थियो। सार्वजनिक पदमा दुराचार पुष्टि भए अधिकतम आजीवन कारावास सजाय हुन सक्ने व्यवस्था छ र यस्तो मुद्दा क्राउन कोर्टमा सुनुवाइ हुने गर्दछ।
एपस्टिनसँगको सम्बन्ध प्रकरणले बेलायती राजनीतिमा ठूलो तरंग ल्याएको छ। यही प्रकरणका कारण दुई वरिष्ठ सरकारी अधिकारीले पद छाडिसकेका छन्। म्यान्डेलसनको नियुक्ति प्रक्रियाबारे पर्याप्त जाँच नगरेको भन्दै प्रधानमन्त्री स्टार्मरमाथि समेत दबाब बढेको छ।
म्यान्डेलसन सन् १९९० को दशकमा पूर्व प्रधानमन्त्री टोनी ब्लेयरको न्यू लेबर परियोजनाका प्रमुख योजनाकारमध्ये एक थिए। तर उनको राजनीतिक यात्रा विवादरहित भने रहेन। सन् १९९८ र २००१ मा छुट्टाछुट्टै विवादका कारण उनले मन्त्री पदबाट राजीनामा दिएका थिए।
पछि पुनः राजनीतिमा फर्किएका उनी सन् २०२४ मा अमेरिकाका लागि बेलायती राजदूत नियुक्त भएका थिए तर एपस्टिनसँगको निकट सम्बन्धबारे कागजात सार्वजनिक भएपछि पदमुक्त गरिएका थिए।
प्रतिक्रिया