काठमाडौँ । पोखराको लिची बारी जग्गाको घुस प्रकरणमा तत्कालीन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पूर्वमन्त्री रन्जिता श्रेष्ठसँग विशेष अदालतले ५ लाख धरौटी माग गरेको छ।
आइतबार न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले श्रेष्ठलाई ५ लाख धरौटीमा छाड्न आदेश दिएको प्रवक्ता एवं उपरजिस्ट्रार कृष्णशरण लामिछानेले जानकारी दिए।
‘पाँच लाख धरौटी माग भएको थियो। उहाँले उक्त धरौटी राखेर तारिख लिनुभएको छ,’ उनले भने। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस डिल गरिएको अडिओ प्रकरणमा पूर्वमन्त्री राजकुमार गुप्ता, रञ्जिता श्रेष्ठसहित ७ जना विरूद्ध असोज २२ गते मुद्दा दर्ता गरेको थियो।
दुई जनाविरूद्ध ७८ लाख रूपैयाँ बिगो कायम गरिएको थियो। व्यक्तिअनुसार फरक फरक बिगो कायम गरिएको छ। पोखरा महानगरपालिका-१६ मा रहेको दिप विर्ता (लिची बगैंचा) मा रहेको भनिएको नक्सा न २५, २६ र २८ को जग्गाको सम्बधमा भ्रष्टाचार प्रकरणमा जोडिएका हुन्।
पूर्वमन्त्री राजकुमार गुप्तासँगको अडिओ सार्वजनिक भएसँगै अख्तियारले अनुसन्धान अगाडि बढाएको थियो। यसअघि राजकुमार गुप्तालाई पुस १६ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
प्रतिक्रिया