काठमाडौँ । रौतहटको गौरमा हिन्दु र मुस्लिम समुदायको विवादलाई थप चर्काउने भूमिका खेलेको आरोपमा प्रहरीले जनमत पार्टीका जिल्ला इन्चार्ज शेख जम्सेद र गौर नगरपालिका–६ का वडा अध्यक्ष अवध बिहारी शाहलाई पक्राउ गरेको छ ।
जम्मेद र शाह सहित कर्फ्यू उल्लङ्घन गर्ने थप २१ जनालाईपनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रहरी कार्यालय रौतहटका डीएसपी विष्णु प्रदीप बस्यालले बताए । उनले भने, ‘अहिलेसम्म २३ जनालाई हामीले नियन्त्रणमा लिएका छौँ ।’ कर्फ्यु उल्लङ्घन गरेको आरोपमा पक्राउ पर्नेमा १५ वर्षीय मोहम्मद कैफ लगायत छन् ।
शनिवार मध्यान्ह १ बजेदेखि गौरको पूर्व मडबलवा गेट, पश्चिम लालवकैया बाँध, उत्तर बम नहर र दक्षिण गौर भन्सार कार्यालय क्षेत्रमा लगाइएको कर्फ्यू निरन्तर छ । अहिले जिल्ला प्रशासन कार्यालयमा हिन्दु मुस्लिम विवादबारे सर्वपक्षीय छलफल भइरहेको डीएसपी बस्यालले बताए ।
जन्ती गएका हिन्दु समुदायका मानिसहरू मस्जिद नजिक पुगेपछि विवाद सुरु भएको थियो । त्यसपछि हिन्दु समुदायले रमजानमा नमाज पढेको समयमा डिजे बजाएर डिस्टर्ब गरेको मुस्लिम समुदायको आरोप छ । शनिबार दुई समूहको बिचमा झडप हुँदा गौरमा ३ वटा गाडी र दुई वटा मोटरसाइकलमा आगजनी गरिएको थियो ।
प्रतिक्रिया