काठमाडौँ । आज हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व महाशिवरात्रि देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदै छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई भगवान् भगवान् शिव को अत्यन्त प्रिय दिनका रूपमा लिने गरिन्छ ।
पुराण अनुसार शिवजी प्रकट भएको रातको स्मरणमा मनाइने यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिमध्ये एक पवित्र रात्रिका रूपमा वर्णन गरिएको छ । यस दिनलाई विशेष गरी दुःखी, कष्टपूर्ण जीवन बिताइरहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने दिन मानिन्छ ।
महाशिवरात्रिका अवसरमा भक्तजनहरू शुद्ध भई शिव मन्दिरहरूमा पूजा, अर्चना गर्दै व्रत बस्ने परम्परा छ । भगवान् शिवलाई प्रिय मानिने दूध, धतुरो र बेलपत्र चढाउने गरिन्छ । यस दिनलाई शिव–पार्वती विवाह तथा ब्रह्माले रूद्ररूपी शिव उत्पत्ति गराएको दिनका रूपमा पनि मान्यता दिइन्छ ।
शिव पुराण अनुसार यस दिन उपवास गरी ‘ऊँ नमः शिवाय’ मन्त्र जप गर्दा पृथ्वीमा सुख समृद्धि प्राप्त भई मृत्युपछि मोक्ष प्राप्त हुने विश्वास छ । त्यस्तै लिङ्ग पुराणमा उपवास, ध्यान र पूजाबाट शिव लोक प्राप्त हुने उल्लेख गरिएको छ भने पद्य पुराण अनुसार व्रत बस्ने पुरुष वा महिला आरोग्य र सौभाग्यले सम्पन्न हुने विश्वास गरिन्छ ।
शिवरात्रिको मुख्य पूजा विधिमा निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा तथा शिवलिंगमा दुग्धाभिषेक प्रमुख मानिन्छ । प्रत्येक प्रहरमा जल, दूध, दही, घिउ, मह र बेलपत्र अर्पण गरिन्छ । शिवमहापुराणको कोटिरुद्रसंहितामा शिवरात्रि व्रतलाई सबैभन्दा उत्तम धर्मसाधनका रूपमा व्याख्या गरिएको छ ।
पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो
बिहानैदेखि पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको चहलपहल बढेको छ । मन्दिर परिसरमा बाबाहरूले धुनी बालेर बस्न सुरु गरेका छन् भने पशुपतिनाथको दर्शनका लागि आएका भक्तजनको उल्लेख्य सहभागिताले यहाँको रौनकता बढाएको छ ।
महाशिवरात्रिको पूर्वसन्ध्यामा शनिबार पशुपतिनाथ मन्दिरलगायत आसपासका क्षेत्रमा देशविदेशबाट आउने साधुसन्त तथा भक्तजनको आगमनसँगै मन्दिर आसपास क्षेत्र यतिबेला निकै व्यस्त देखिएको थियो । यस वर्षको महाशिवरात्रिका दिन कम्तीमा पनि आठ लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको र करिब चार हजार साधुसन्तको उपस्थिति रहने अपेक्षा गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाष जोशीले जानकारी दिए ।
दर्शनार्थीको सहजताका लागि आज बिहान ४ः०० बजेदेखि पशुपतिनाथका चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । महाशिवरात्रिको दिन पशुपति क्षेत्र आसपास सवारी आवागमनमा विशेष व्यवस्थापन गरिनेछ ।
कोषका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ट्राफिक प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । भीड नियन्त्रण, हराएका व्यक्तिको खोजतलास, आपत्कालीन उद्धार तथा शङ्कास्पद गतिविधि निगरानीका लागि सिसीटिभी क्यामेरा तथा मोबाइल गस्ती बढाइएको जनाइएको छ ।
पशुपति क्षेत्रमा प्रवेश गर्ने मुख्य नाका तथा मन्दिर परिसर वरिपरि पैदलमार्गको व्यवस्था गरिनुका साथै आपत्कालीन सवारीका लागि छुट्टै मार्ग निर्धारण गरिएको कोषले जनाएको छ । दर्शनलाई सहज बनाउन चारवटा लाइन व्यवस्थापनका साथै ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विशिष्ट अतिथिका लागि छुट्टै व्यवस्था मिलाइएको प्रवक्ता जोशीले बताए । उनका अनुसार खानेपानी, शौचालय, विश्रामस्थल र प्राथमिक उपचार केन्द्रहरूको सङ्ख्या बढाइएको छ । स्वास्थ्य सेवा उपलब्ध गराउन विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थासँग समन्वय गरिएको छ ।
कोषले स्वयंसेवक परिचालन गरी दर्शनार्थीलाई आवश्यक सूचना, सहजीकरण र मार्गनिर्देशन गर्ने व्यवस्था गरेको छ । माइकिङ प्रणालीमार्फत भीडको अवस्था र सुरक्षासम्बन्धी सूचना निरन्तर प्रसारण गरिन थालिएको छ ।
प्रतिक्रिया