• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    कार्यभार सम्हाल्दै नयाँ चिनियाँ राजदूतले गरे २ देशको सम्बन्ध थप उचाइमा पुर्याउने प्रतिबद्धता

    437
    SHARES



    काठमाडौँ । नेपालका लागि नयाँ चिनियाँ राजदूत चाङ माओमिङ नेपाल आइपुगेका छन् । उनले शुक्रबार नेपाल आएर आफ्नो कार्यभार सम्हालेका हुन् ।

    कार्यभार सम्हाल्दै राजदूत चाङले दुई देश बिचको सम्बन्धलाई थप नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । २३ औँ चिनियाँ राजदूतका रूपमा नेपाल आएका उनले ‘चीन–नेपाल साझा भविष्य’ निर्माणका लागि हात मिलाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

    चीनले नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षाका लागि सधैँ समर्थन गर्ने र नेपालले पनि ‘एक–चीन’ सिद्धान्तप्रति देखाएको दृढ प्रतिबद्धताबारे प्रशंसा गरेका छन् ।

    राजदूत चाङले नेपालमा रहँदा आफूले ‘जनमुखी कूटनीति’ लाई प्राथमिकता दिने बताउँदै नेपालस्थित चिनियाँ दूतावासले यहाँ रहेका चिनियाँ नागरिकहरूको हित रक्षाका लागि अभिभावकको रूपमा काम गर्ने र उनीहरूको वैधानिक अधिकारको रक्षा गर्ने प्रतिबद्धता जनाए ।

    राष्ट्रपति सी जिनपिङको विश्वासिलो दूतका रूपमा काम गर्न पाउनु आफ्ना लागि सम्मान र जिम्मेवारी दुवै भएको उल्लेख गर्दै उनले नेपाल र चीन हिमाल र नदीले जोडिएका अभिन्न छिमेकी मात्र नभई पुस्तौँदेखिको मित्रता र साझा विकासका साझेदार भएको बताए । उनले भने, ‘दौत्य सम्बन्ध स्थापना भएको ७१ वर्षयता हाम्रा दुई देशले सुख–दुःखमा एक अर्कालाई साथ दिँदै असल छिमेकीको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन् ।’

    सन् २०१९ मा राष्ट्रपति सी जिनपिङको ऐतिहासिक नेपाल भ्रमणले द्विपक्षीय सम्बन्धलाई अझ उचाइमा पुर्याएको स्मरण गर्दै उनले बीआरआई अन्तर्गतका सहकार्यलाई अझ सुदृढ बनाउने बताए ।

    सन् २०२६ चीनको १५औँ पञ्चवर्षीय योजनाको सुरुवात हुने वर्ष भएको जानकारी दिँदै राजदूत चाङले चीनको आधुनिकीकरण र उच्चस्तरीय खुलापनले नेपालका लागि विकासका नयाँ अवसरहरू सिर्जना गर्ने विश्वास व्यक्त गरे । ‘ग्लोबल साउथ’ बिचको एकता र विभिन्न वैश्विक चासोका विषयहरूमा मिलेर काम गर्ने समेत उनले बताए ।

    अघिल्ला राजदूत चेन सोङका् ठाउँमा चाङ आएका हुन् । चेन आफ्नो कार्यकाल पुरा गरी स्वदेश फर्किसकेका छन् । चीनको विदेश मन्त्रालयको एसियाली मामिला विभागका उपमहानिर्देशक भएर काम गरिसकेका चाङलाई नेपाल मामिलाका जानकार मानिन्छ ।

    नेपालमा भइरहेको चुनाव र बदलिँदा भूराजनीतिक परिवेशमा उनको आगमन भएको हो । उनी नेपालका लागि भने नयाँ होइनन् । चाङले यसअघि विभिन्न समयमा नेपालको भ्रमण गरिसकेका छन् । नेपालीहरुसँगको उच्चस्तरीय भेटघाटमा पनि उनी पटक पटक संलग्न भइसकेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ