• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    अख्तियार दुरुपयोग नागरिकको आस्था, विश्वास र भविष्यमाथि गरिने आघात हो : राष्ट्रपति

    287
    SHARES



    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोगलाई सामान्य प्रशासनिक कमजोरीका रूपमा बुझ्न नहुने स्पष्ट गर्दै यसले राज्यको वैधानिकता र सामाजिक न्यायमाथि गहिरो असर पार्ने बताएका छन्।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसका अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले पद र शक्तिको आडमा कोही पनि कानुनी जवाफदेहिताबाट उम्किन नपाउने सन्देश आम नागरिकमा स्थापित हुने गरी आयोगले अझ प्रभावकारी भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याए।

    उनका अनुसार अख्तियार दुरुपयोग केवल कानुन उल्लङ्घनको विषय मात्र नभई नागरिकको भरोसा, विश्वास र भविष्यप्रतिको आशामाथि प्रत्यक्ष चोट पुर्‍याउने गम्भीर समस्या हो। सार्वजनिक शक्ति व्यक्तिगत स्वार्थका लागि प्रयोग हुँदा राज्य र नागरिकबीचको विश्वास कमजोर हुँदै जाने र त्यसले लोकतान्त्रिक प्रणालीप्रति निराशा पैदा गर्ने उनले बताए।

    राष्ट्रपति पौडेलले सत्ता, शक्ति र धनप्रतिको अनियन्त्रित लोभले प्रक्रिया र प्रणालीको दुरुपयोग हुँदै भ्रष्टाचार बढ्ने उल्लेख गर्दै व्यक्तिगत आचरण, बानी र व्यवहारबाटै भ्रष्टाचार नगर्ने दृढ संकल्प भए यसलाई नियन्त्रण गर्न सकिने धारणा राखे। सदाचार, नैतिकता, पारदर्शिता र निर्भीकतालाई जीवन पद्धतिका रूपमा अपनाए भ्रष्टाचार निर्मूल गर्न सकिने उनको भनाइ थियो।

    उनले नीति, पद्धति, प्रविधि र प्रवृत्तिमा सुधार गर्दै अनुशासन र सदाचारको प्रणाली विकास गर्न सके छिट्टै सकारात्मक परिणाम देखिने विश्वास व्यक्त गरे।

    लोकतन्त्रको सुदृढीकरण, सुशासन, आर्थिक विकास र सामाजिक न्याय राष्ट्रको साझा लक्ष्य भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सुशासन र पारदर्शिताविना लोकतन्त्रको प्रतिफल जनतासम्म पुर्‍याउन नसकिने बताए। जनअपेक्षाअनुसारको विकास र समृद्धि हासिल गर्न अख्तियार दुरुपयोगको अन्त्य र भ्रष्टाचार नियन्त्रण अनिवार्य शर्त भएको उनको भनाइ थियो।

    संविधान र लोकतान्त्रिक गणतन्त्रको मूल उद्देश्य सहज सेवा प्रवाह, सुशासन र समृद्धि भएको उल्लेख गर्दै उनले यही लक्ष्य पूरा गर्न जनस्तरबाट समय–समयमा आवाज उठ्ने गरेको र पछिल्लो समय युवा पुस्ताले गरेको सङ्घर्षले पनि त्यही चाहना प्रकट गरेको बताए।

    राष्ट्रपति पौडेलले भ्रष्टाचारविरुद्धको अभियान कुनै एक निकायको जिम्मेवारी मात्र नभई राज्यका सबै अङ्ग, राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र र नागरिक समाजको साझा प्रतिबद्धताबाट मात्र सफल हुने स्पष्ट पारे। भ्रष्टाचारविरुद्धको लडाइँ न्याय, समानता र सुशासनको पक्षमा उभिने अभियान भएको उल्लेख गर्दै त्यसकै माध्यमबाट नागरिकको विश्वास पुनःस्थापित गर्न र भावी पुस्तालाई सक्षम तथा भरोसायोग्य राज्य हस्तान्तरण गर्न सकिने उनले विश्वास व्यक्त गरे।

    भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक इच्छाशक्ति पहिलो सर्त भएको भन्दै राष्ट्रपति पौडेलले राजनीतिक नेतृत्वको कार्यसंस्कृतिमा सकारात्मक परिवर्तन आए त्यसले समग्र प्रशासनिक संयन्त्रलाई सही दिशामा डोर्‍याउने धारणा राखे।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ