रुकुमपूर्व । बागलुङ र पूर्वी रुकुमको सीमावर्ती क्षेत्रमा परेको भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । भूमे गाउँपालिका–१ स्थित पातीहाल्ने क्षेत्रमा झन्डै दुई फिटसम्म हिउँ जमेपछि यातायात ठप्प भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार हिमपातसँगै त्यस क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। मौसम प्रतिकूलताका कारण सञ्चार सम्पर्क समेत विच्छेद भएको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध भएपछि काठमाडौंबाट रुकुम पूर्व हुँदै रुकुम पश्चिम र डोल्पाका लागि हिंडेका यात्रुबाहक बस तथा अन्य सवारी साधनहरू बीच बाटोमै रोकिएका छन्। चिसोका कारण सडकमा अलपत्र परेका यात्रुहरू बिचल्लीमा परेका छन् ।
रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी सीता परियारले सडक खुलाउनका लागि भूमे गाउँपालिकाको केन्द्रबाट जेसिबी (डोजर) पठाइएको जानकारी दिइन् ।
उच्च हिमाली क्षेत्र भएकाले उक्त खण्डमा बर्सेनि हिउँ परेर सडक अवरुद्ध हुने गरेको छ । यसपटकको बाक्लो हिमपात र फोन नेटवर्कले काम नगर्दा उद्धार तथा समन्वयमा समेत कठिनाइ भइरहेको सुरक्षा निकायले जनाएको छ।
प्रतिक्रिया