• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    सिरहामा पोस्टमार्टमपछि शव साटियो, अर्कै परिवारले किशोरीको दाहसंस्कार गरेपछि खुल्यो रहस्य

    1.1K
    SHARES



    CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

    काठमाडौँ । सिरहामा पोस्टमार्टमपछि शव हेरफेर भएको गम्भीर घटना सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित बनेका छन्। मृतक किशोरीको शव अर्कै परिवारले दाहसंस्कार गरेको खुलासा भएपछि घटनाले मानविक संवेदनामाथि गम्भीर प्रश्न उठाएको छ।

    माघ १० गते शनिबार सिरहाको गोलबजार नगरपालिका–३, जम्दहकी करिब १६ वर्षीया निशा बानियाँ आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। इलाका प्रहरी कार्यालय गोलबजारले घटनास्थलको मुचुल्का उठाएर पोस्टमार्टमका लागि शव रामकुमार शारदा उमा प्रसाद मुरारका प्रादेशिक अस्पताल, लहान पठाएको थियो।

    उही दिन पोस्टमार्टमका लागि अस्पतालमा अर्की १६ वर्षीया किशोरी राधिका साहको शव पनि ल्याइएको थियो। पोस्टमार्टमपछि अस्पतालबाट एक शव बाहिर निकालिएपछि उक्त शव राधिकाकै भएको भन्दै उनका आफन्तले बुझेर दाहसंस्कारका लागि लगे। तर पछि उक्त शव निशाको भएको पुष्टि भएको हो।

    प्रहरीका अनुसार शनिबार शव अस्पताल पुर्‍याइए पनि परिवारका सदस्य नआएकाले तत्काल पोस्टमार्टम नगरिएको थियो। सोमबार बिहान आमा–बुबा भारतको मुम्बइबाट फर्किएपछि दिउँसो १ बजे पोस्टमार्टम गर्ने तयारी गरिएको थियो। तर त्यसक्रममा अस्पतालमा रहेको शव सप्तरीको खडक नगरपालिका–१, करर्बोना निवासी राधिका साहको भएको खुलेको थियो।

    यससँगै राधिकाको परिवारले निशाको शव दाहसंस्कार गरिसकेको तथ्य सार्वजनिक भएपछि घटनाले नयाँ मोड लिएको छ।

    तर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रञ्जित झाले भने निशाकै परिवारले शव बुझिसकेको र पछि आफ्नो नभएको भन्दै दाबी गरेपछि मात्र शव हेरफेर भएको थाहा भएको प्रतिक्रिया दिएका छन्।

    घटनाको विरोधमा स्थानीयवासी तथा मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्गअन्तर्गत गोलबजार क्षेत्रमा टायर बालेर प्रदर्शन गरेका थिए। केही समय राजमार्ग अवरुद्धसमेत भएको थियो।

    प्रदर्शनकारीहरूले चिकित्सक तथा अस्पताल सञ्चालक समितिका अध्यक्षलाई जिम्मेवार ठहर गर्दै कडा कारबाहीको माग गरेका छन्।

    यसैबीच जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी रमेशबहादुर पालले घटनामा संलग्न वा लापरबाही गर्ने जो–कोहीमाथि कानुनअनुसार कारबाही हुने बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ