वासिङ्टन डिसी । शक्तिशाली हिमआँधीका कारण अमेरिकाको जनजीवन नराम्ररी प्रभावित भएको छ।
टेक्ससदेखि न्यू इङ्गल्याण्डसम्म फैलिएको यो आँधीका कारण १० लाखभन्दा बढी घरमा विद्युत् आपूर्ति बन्द भएको छ भने अहिलेसम्म लुजियाना र टेक्ससमा गरी कम्तीमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ।
राष्ट्रिय मौसम सेवाले हिउँ, बरफ र ठिहिर्याउने वर्षाका कारण आगामी केही दिनसम्म अवस्था जीवनकै लागि घातक हुन सक्ने चेतावनी दिएको छ।
आँधीका कारण यातायात क्षेत्रमा ठूलो असर परेको छ। अहिलेसम्म १० हजारभन्दा बढी उडानहरू रद्द भएका छन् भने सडकहरूमा हिउँ र बरफ जमेका कारण यात्रा असुरक्षित बनेको छ।
भर्जिनिया राज्यमा मात्रै २०० भन्दा बढी सवारी दुर्घटनाहरू रिपोर्ट गरिएका छन्। अमेरिकाको आधाभन्दा बढी जनसङ्ख्या अर्थात् करिब १८ करोड मानिस यो प्रतिकूल मौसमबाट प्रत्यक्ष प्रभावित हुने अनुमान गरिएको छ।
यसपटकको आँधीमा हिउँभन्दा बढी बरफ जम्ने समस्या देखिएको छ। यसले रूखहरू ढाल्ने र विद्युत्का तारहरू चुँडाउने खतरा बढाएको छ। केन्टकीका गभर्नर एन्डी बेशियरले सडकहरू अत्यन्तै खतरनाक भएको र यो अवस्था अर्को हप्तासम्म जारी रहने बताएका छन्।
सामान्यतया न्यानो हुने टेक्सस, लुजियाना र टेनेसी जस्ता राज्यहरूमा तापक्रम औसतभन्दा १५–२० डिग्री सेल्सियस तल झरेको छ, जसले गर्दा त्यहाँका बासिन्दा थप मारमा परेका छन्।
भयङ्कर चिसोका कारण झण्डै आधा राज्यहरूमा सङ्कटकाल घोषणा गरिएको छ। विद्यालयहरू बन्द गरिएका छन् भने अमेरिकी सिनेटको सोमबारका लागि तय गरिएको मतदान समेत रद्द भएको छ। वासिङ्टन डिसीकी मेयर मुरियल बाउजरले यसलाई एक दशककै ठूलो हिमआँधी भनेकी छन्।
मौसमविद्हरूका अनुसार ‘पोलर भोर्टेक्स’ अर्थात् आर्क्टिक क्षेत्रको चिसो हावा दक्षिणतिर मोडिएका कारण यो शक्तिशाली आँधी आएको हो। विज्ञहरूले जलवायु परिवर्तनका कारण समुद्रको तापक्रममा आएको उतारचढावले पोलर भोर्टेक्सको व्यवहारमा प्रभाव पारेको हुन सक्ने बताएका छन्।
यो चिसोको लहर फेब्रुअरीको सुरुसम्मै कायम रहने मौसम पूर्वानुमान गरिएको छ।
प्रतिक्रिया