काठमाडौँ । नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्र (नेपाल–चाइना कोअर्डिनेशन मेकानिजम अन बोर्डर ट्रेड एण्ड कर्पोरेशन) को तेस्रो वाणिज्य सचिवस्तरीय बैठक चीनको सिजाङ स्वायत्त क्षेत्रको राजधानी ल्हासामा माघ ६–७ गते (जनवरी २०–२१, २०२६) सम्पन्न भएको छ।
बैठकमा द्विपक्षीय व्यापार, भन्सार सहजीकरण, पूर्वाधार विकास, लगानी र अन्य सहकार्यका विषयमा महत्त्वपूर्ण सहमति भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले गरेका थिए भने चिनियाँ पक्षको नेतृत्व सिजाङ जनसरकारका उपाध्यक्ष चाओ पेङले गरेका थिए।
बैठकमा सन् २०२४ नोभेम्बरमा काठमाडौँमा सम्पन्न दोस्रो बैठकका निर्णयहरूको कार्यान्वयन समीक्षा गर्दै आगामी सहकार्यका प्राथमिकता तय गरिएको छ। व्यापार, लगानी, पारवहन, भन्सार सहजीकरण, प्राविधिक सहकार्य र व्यापारिक पूर्वाधार विकासबारे विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।
दुवै पक्षबीच सन् १९८१ को व्यापार तथा भुक्तानी सम्झौता समसामयिक बनाउने, सीमा प्रवेश पास सरलीकरण, टोखा–छहरे सुरुङ निर्माण प्रक्रिया तीव्र बनाउने, रासायनिक मल आयातका लागि कोटा निर्धारण, नेपाल एलडिसीबाट स्तरोन्नति भएपछि पनि चीनको शून्य भन्सार सुविधा निरन्तरता दिने तथा विपद्का समयमा सवारी साधन पुनर्मार्गीकरण सुविधा दिने विषयमा छलफल भएको छ।
भन्सार सहजीकरण र सीमा व्यवस्थापन सुधारका लागि नेपाल–चीन सीमा यातायात सम्झौता प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, हरित च्यानलमार्फत आयात–निर्यात प्रवर्द्धन, प्रयोगशाला परीक्षण सुदृढीकरण, व्यापार तथ्याङ्क आदानप्रदान, सवारी आवागमन सहज बनाउने र नेपालबाट जुट निर्यात सहजीकरण गर्ने विषयमा सकारात्मक सहमति भएको छ।
संखुवासभाको किमाथांका नाकामा सडक, मितेरी पुल र आइसिडि निर्माण, रसुवाको टिमुरेस्थित आइसिडि निर्माणलाई निरन्तरता, रसुवा–स्याफ्रुवेँसी र हिल्सा–सिमिकोट सडक निर्माणमा सहकार्य गर्ने विषयमा पनि छलफल भएको छ। साथै जिलोंग र रसुवाका नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गर्ने र नेपाल–चीन उच्च प्रविधियुक्त कृषि पार्क निर्माण परियोजना अघि बढाउने सहमति भएको छ।
बैठक मैत्रीपूर्ण वातावरणमा सम्पन्न भएको र संयन्त्रको चौथो बैठक सन् २०२७ मा नेपालमा आयोजना गर्ने सहमति भएको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया