काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले आवश्यक सम्पूर्ण प्राविधिक तथा प्रशासनिक तयारी पूरा गरेको जनाएको छ। माघ ११ गते आइतबार सातै प्रदेशमा हुने मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ।
निर्वाचन आयोगका अनुसार उम्मेदवार मनोनयन, दाबी–बिरोध, छानबिन, अन्तिम नामावली प्रकाशन तथा चुनाव चिन्ह वितरणजस्ता प्रक्रिया सकिएको छ। मतपत्रसमेत सम्बन्धित प्रदेशस्थित निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकिएको आयोगले जनाएको छ।
शुक्रबार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतदानका लागि कुनै अवरोध नरहेको स्पष्ट पारे। उनका अनुसार निर्वाचन शान्तिपूर्ण र निष्पक्ष ढंगले सम्पन्न गराउन आवश्यक सबै संयन्त्र तयारी अवस्थामा छन्।
यसपटक १८ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदैछ। तीमध्ये नेपाली कांग्रेसका सुनीलबहादुर थापा भने निर्विरोध निर्वाचित भइसकेका छन्। बाँकी १७ सदस्यका लागि सातै प्रदेश राजधानीमा मतदान हुने आयोगले जानकारी दिएको छ।
कानुनअनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता रहने व्यवस्था छ। तर केही प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेपछि उनीहरूको नाम मतदाता नामावलीबाट हटाइएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए।
प्रतिक्रिया