• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    रास्वपा तेह्रथुममा पहिरो, जिल्लादेखि वडा समितिसम्म सबैले दिए सामूहिक राजीनामा

    1.9K
    SHARES



    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तेह्रथुम जिल्लाका जिल्ला कार्य समिति, सबै पालिका समिति र वडा कमिटीका पदाधिकारीहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्।

    टिकट वितरणमा असन्तुष्टि जनाउँदै उनीहरूले सामूहिक राजीनामा बुझाएका हुन्। रास्वपाले ऋतुराज लिम्बूलाई तेह्रथुममा उठाउने भएको छ।

    राजीनामा पत्रमा उल्लेख गरिएको छ, ‘भदौ २३ र २४ गते सम्पन्न जेनजी जनआन्दोलनपछि मुलुकले नयाँ राजनीतिक मोड लिएको र त्यसको मर्मअनुसार तेह्रथुमबाट युवा, सक्षम र अब्बल उम्मेदवारका रूपमा ‘अवेर तेह्रथुम’ का संयोजक सुरेन्द्र कार्कीलाई साझा उम्मेदवार बनाउने व्यापक राजनीतिक सहमति भएको थियो। सो सहमतिअनुसार घण्टी चुनाव चिह्न लिएर आगामी निर्वाचनमा अघि बढ्ने निर्णय गरिएको र पार्टीको नियमित प्रक्रिया अनुसार प्रदेश र केन्द्रमा आवश्यक औपचारिकता पूरा गरियो। यसको बाबजुत पार्टीले नै पारित गरेको उम्मेदवार छनोट प्रक्रियाभन्दा बाहिर गएर जिल्ला कार्य समिति र प्रदेश समितिको भावना विपरीत अमुक व्यक्तिलाई उम्मेदवारको टिकट दिँदा पार्टीको विधिमाथि त प्रश्न उठ्यो नै, जिल्लागत रूपम व्यापक राजनीतिक सहमतिबाट गरिएको निर्णयमा समेत कुठराघात भयो।’

    राजीनामा पत्रमा यस घटनाले तेह्रथुमको जनभावनामा गम्भीर असर पुगेको उल्लेख गर्दै केन्द्र र प्रदेशसँग सहकार्य गरी गरिएको सहमति पूरा गर्न नसकेको नैतिक जिम्मेवारी लिँदै सामूहिक राजीनामा दिएको जनाइएको छ।

    राजीनामा दिनेमा जिल्ला कार्यसमिति तेह्रथुमका सभापति सुमन खत्री, म्याङलुङ नगरपालिका, लालिगुराँस नगरपालिका, मेन्छयायेम गाउँपालिका, छथर गाउँपालिका, फेदाप गाउँपालिका र आठराई गाउँपालिकाका पालिका समिति तथा सबै वडा कमिटीका पदाधिकारीहरू रहेका छन्। साथै केन्द्रीय सम्पर्क विभाग तेह्रथुमका संयोजक गुणनिधि अङ्तोलाले पनि राजीनामा दिएका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ