काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै बन्ने ठोकुवा गरेका छन् । जनकपुरमा सोमबार आयोजित उद्घोष सभालाई सम्बोधन गर्दै उनले बालेन प्रधानमन्त्री नबने जनकपुरमा आएर आत्मदाह गर्ने ठुकुवा गरेका हुन् ।
‘हामी सीता माताका सन्तान हौं । सीमा माता यही धर्तीमा समाहित भएकी थिइन् । बालेन प्रधानमन्त्री भएनन् भने म जनकपुरको धर्तीमा समाहित हुनेछु,’ उनले दोहोर्याएर भने, ‘बालेन प्रधानमन्त्री बनेनन् भने म जनकपुरको रणभूमिमा आत्मदाह गर्नेछु ।’
बालेनलाई देशको महानायक भन्दै उनले आफ्नो गम्झा देखाउँदै भोट मागे । ‘म हात जोडेर भन्छु, मसँग केही छैन । केवल आग्रह गर्छु, तपाईंहरूसँग गम्छामा भिख माग्छु, मधेशलाई प्रधानमन्त्री देऊ,’ आक्रामक भाषण गरेका सिंहले भने ।
साथै उनले मधेसको छोरालाई प्रधानमन्त्रीका रूपमा अघि सार्न प्रमुख दलहरूलाई चुनौती दिएका छन् । सिंहले कुनै दलले मधेसका छोरालाई प्रधानमन्त्रीका रूपमा अघि सार्छ भने आफूहरू बालेन शाहलाई फिर्ता गर्ने पनि प्रस्ट पारे । उनले बालेन शाह यो देशको ‘महानायक’ रहेको दाबी गर्दै बालेनकै नेतृत्वमा अब मधेसले न्याय पाउने जिकिर गरे ।
‘मधेसको छोराछोरीलाई सहिद बनाएर सत्ता स्वार्थ पूर्ति गर्ने खेल बन्द गर्न चाहन्छौँ,’ सिंहले भने ‘धर्तीपुत्र बालेन शाहको अगुवाइमा तमाम बिचौलिया, भ्रष्टाचारीलाई कारबाही गरिन्छ,’ उनले भने, ‘जनताको रगत पसिनामा होली खेल्नेलाई सावधान भन्न चाहन्छौँ ।’
निवर्तमान सांसद सिंह ०७९ को चुनावमा स्वतन्त्र उम्मेदवारका रूपमा सर्लाही–४ बाट निर्वाचित भएका थिए । त्यसअघि उनी नेपाली कांग्रेसमा थिए ।
प्रतिक्रिया