काठमाडौँ । बंगलादेश र भारतबीचको बिग्रँदो राजनीतिक सम्बन्धका कारण बंगलादेशले आगामी टी–२० विश्वकपका आफ्ना खेलहरू भारतबाट श्रीलंका सार्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) सँग माग गर्ने भएको छ। टी-२० विश्वकप २०२६ का खेल भारत र श्रीलंकामा हुँदैछन्।
यो विवादको मुख्य कारण इन्डियन प्रिमियर लिग (आइपिएल) को टोली कोलकाता नाइट राइडर्स (केकेआर) बाट बंगलादेशी तीव्र गतिका बलर मुस्ताफिजुर रहमानलाई हटाउनु रहेको छ।
बंगलादेशले अर्को महिना हुने विश्वकपका आफ्ना सुरुवाती तीनवटा खेलहरू कोलकातामा खेल्ने तालिका छ। तर, पछिल्लो घटनाक्रमपछि त्यहाँ आफ्ना खेलाडीहरू सुरक्षित नहुने भन्दै बिसिबीले आइसिसीलाई पत्र लेख्ने निर्णय गरेको छ। शनिबार बसेको बोर्डको आकस्मिक बैठकपछि मिडिया कमिटीका अध्यक्ष अमजद हुसेनले भारतमा हुने खेलको विषयमा आइसिसीलाई जानकारी गराउने पुष्टि गरे।
बंगलादेशका खेलकुद सल्लाहकार आसिफ नजरुलले भारतमा टोलीको सुरक्षालाई लिएर गम्भीर आशंका व्यक्त गरेका छन्। उनले फेसबुकमा लेख्दै भनेका छन्, ‘जहाँ एक बंगलादेशी खेलाडीले सम्झौता भएर पनि खेल्न पाउँदैनन् भने, त्यस्तो ठाउँमा हाम्रो पूरा टोली सुरक्षित छ भनेर कसरी मान्न सकिन्छ? त्यसैले मैले बंगलादेशका खेलहरू श्रीलंका सार्न बोर्डलाई निर्देशन दिएको छु।’ साथै, उनले बंगलादेशमा आइपिएलको प्रसारण रोक्न सूचना तथा प्रसारण मन्त्रालयलाई समेत आग्रह गरेका छन्।
कोलकाता नाइट राइडर्सले मुस्ताफिजुरलाई ९.२ करोड भारुमा किनेको थियो। तर, भारतमा चर्को विरोधपछि भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को निर्देशनमा उनलाई टोलीबाट निकालिएको छ। बिसिसिआईले यसको कारण ‘पछिल्लो विकसित घटनाक्रम’ भनेर उल्लेख गरेको छ।
तालिका अनुसार बंगलादेशको पहिलो खेल फेब्रुअरी ७ मा कोलकाताको इडेन गार्डेन्समा वेस्ट इन्डिजसँग हुने तय छ। बंगलादेशका खेलहरू कोलकाता र मुम्बईमा हुने तालिका सार्वजनिक भइसकेको छ।
पछिल्लो समय बंगलादेश र भारतबीचको राजनीतिक सम्बन्धमा आएको तिक्तताको असर अब क्रिकेटको मैदानमा पनि स्पष्ट देखिन थालेको छ। बंगलादेशको समूहमा नेपाल पनि छ। पछिल्लो घटनाक्रमसँगै नेपाल र बंगलादेशबीच फेब्रुअरी १७ (फागुन ५) हुने खेल पनि मुम्बईबाट श्रीलंका सर्न सक्नेछ।
प्रतिक्रिया