काठमाडौँ । झापाको भद्रपुर विमानस्थलमा शुक्रबार राति भएको बुद्ध एयरको एटीआर–७२ विमान दुर्घटनामा चालक दलका एक सदस्यसहित सात जना सामान्य घाइते भएका छन् ।
काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको कलसाइन ९०१ रहेको विमान राति करिब ९ः१० बजे अवतरण गर्ने क्रममा रन–वे नाघ्दै पूर्वतर्फ करिब ३०० मिटर अगाडि पुगेपछि घाँसे झाडी र माटोमा भासिएर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
विमानमा ५१ जना यात्रु, चार जना चालक दलका सदस्य र एक जना इन्जिनियर सवार थिए । दुर्घटनामा ललितपुर–४ का २४ वर्षीय को–पाइलट सुशान्त श्रेष्ठसहित छ जना यात्रु घाइते भएका हुन् ।
घाइते यात्रुहरूमा भद्रपुर–१० का ४० वर्षीय सबिन जोगी, विर्तामोड–७ की २० वर्षीया प्रेषिका अधिकारी, विर्तामोड–१ की ४२ वर्षीया सुमित्रा जोगी, दमक–१ का २८ वर्षीय कमलप्रसाद कटुवाल, काठमाडौँ–१६ की ४० वर्षीया मुना घतानी र काठमाडौँ–१६ की १६ वर्षीया प्रिया घतानी रहेका छन् ।
नेपाल प्रहरीको उद्धार टोलीले सबै घाइतेलाई तत्काल भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पताल पुर्याएको थियो । टाउको र अनुहारमा चोट लागेका को–पाइलट सुशान्त श्रेष्ठको अस्पतालमा उपचार भइरहेको छ भने अन्य छ जना सामान्य उपचारपछि डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुले जानकारी दिए ।
बुद्ध एयरको उक्त विमान शुक्रबार राति ८ः२३ बजे काठमाडौँबाट उडेको थियो । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया